राप्रपाका राणाले भने- ‘दीपक बाेहरालाई जिताउनुस्, गृहमन्त्री बनाएर पठाउँछाैं’

राप्रपाका राणाले भने- ‘दीपक बाेहरालाई जिताउनुस्, गृहमन्त्री बनाएर पठाउँछाैं’

भैरहवा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपति शमसेर राणाले रुपन्देही क्षेत्र नम्बर ३ बाट दीपक बोहरालाई जिताए गृहमन्त्री बनाएर पठाउने बताएका छन्।

‘दीपक बोहरा विकासको लागि जरुरी छ, यो ठाउँ, यहाँको गाउँले चिनेको व्यक्ति हुन्,’ सोमबार भैरहवामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘उनलाई मंसिर ४ गतेको निर्वाचनमा मत दिनुस् हामी उहाँलाई गृहमन्त्री बनाएर पठाउँछौं।’

राणाले दीपक बोहराको जित सुनिश्चित रहेको दावी गर्दै आफ्नो मत सदुपयोग गर्न पनि आग्रह गरे।

उनले भने, ‘दीपकले जितिसकेका छन्। केवल औपचारिकता पूरा गर्न बाँकी छ, दीपकको जीत राष्ट्रियता र अखण्डताको लागि पनि आवश्यक छ।’

राणाले रुपन्देही क्षेत्र नम्बर ३ को सवालमा सबै राप्रपाका सदस्यहरूले प्रतिनिधिसभा सदस्यमा हलोमा र प्रदेशमा छाता र सूर्यमा मतदान गरेर इमान्दारिता देखाउन पनि आग्रह गरे।

फरक प्रसङ्गमा राणाले गृहमन्त्री बालकृष्ण खाँणले शक्तिको दुरूपयोग गरिरहेको आरोप लगाए।

‘सरकारका वर्तमान गृहमन्त्री पनि प्रतिष्पर्धीको रूपमा छन् रे, उनले प्रहरी प्रशासनको दुरुपयोग गरेको भन्ने सूचना आएको छ,’ उनले भने,  ‘म उहाँलाई चेतावनी दिन चाहन्छु, राज्यशक्तिको दुरुपयोग नहोस्।’

उनले कांग्रेसको कारण देश संकटमा परेको बताउँदै मुलुकको निकासको लागि निर्वाचनमा सबै राष्ट्रवादीहरू एक भएर लाग्ने समेत बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय नेतृत्वले दीपकको विजयीको लागि कुनै कमी नराख्ने बताउँदै एमाले र जसपाको राजनीतिक इमान्दारितासँगै विजयीको सुनिश्चिता रहेको समेत बताए।

कात्तिक २१, २०७९ सोमबार १२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।