१५ वर्षकी रोशनी र १४ वर्षका शरदको मृत्युको कारण बिद्धुतिय धराप, ४ जना पक्राउ

दाङ : प्रहरी अनुसन्धानमा बिद्धुतिय पासोमा परेर
१५ वर्षीया रोशनी महतारा र १४ वर्षीय शरद आचार्यको मृत्यु भएको देखिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ समेत गरेको छ।
प्रारम्भमा हत्या गरेर गाडेको शंकामा २ जनालाई पक्राउ गरेको थियो। तर अनुसन्धानमा सोही क्षेत्रका चार जनाले बँदेल मार्न थापेको बिद्धुतिय धरापमा परेर दुवैको ज्यान गएको उल्लेख छ।
तुलसीपुर उपमहानगरपालिका–१३ डाँडागाउँस्थित १५ वर्षीया रोशनी र दङ्गीशरण गाउँपालिका–६ थपगाउँ घर भई तुलसीपुर–१३ दमारगाउँस्थित मामाघर बस्दै आएका १४ वर्षीय शरदको शव एकै खाल्डोमा पुरेको अवस्थामा सामुदायिक बनमा फेला परेको थियो।
प्रहरीले आइतबार हत्यामा संलग्न भएको भन्दै तुलसीपुर–१३ निवासी ३९ वर्षीय गणेश भन्ने हरिश्चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भन्ने अम्मरराज कार्कीलाई सार्वजनिक गर्यो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार असोज २७ गते राति १० बजेतिर गणेश भन्ने हरिसचन्द्र पौडेलको घरबाट विद्युत् लिएर नजिकैको जङ्गलमा बँदेल मार्न पासो थापेको र त्यही पासोमा परेर उनीहरूको राति नै मृत्यु भएको खुलेको थियो।
अमरराज कार्की र गणेश भन्ने हरिश्चन्द्र पौडेल असोज २८ गते बिहान साढे ५ बजेतिर बँदेल पर्यो कि भनेर हेर्न जाँदा दुवै जना मृतवस्थामा फेला परेका थिए।
त्यसपछि शवलाई जङ्गलको झाडीमा फालेर फर्किए।
सोही दिन राति १० बजेतिर अमरराज कार्की, पौडेलसहित खिमबहादुर बुढा र नुमानन्द कार्की गएर खाल्डो खनेर शव गाडेको प्रहरीको दाबी थियो।
करेन्ट लगाउन प्रयोग भएको बिजुलीको वायरिङ तार ७६ मिटर एक इन्च, साना सात वटा बाँस, फलामको वायरिङ तार, किल्ला खन्न प्रयोग भएको फोरुवा एक थान, शव बोक्न प्रयोग भएको कुखुराको दाना राख्ने बोरा बरामद भएको प्रहरीले बताएको छ।
उनीहरू चार जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ। रोशनी र शरदको शव गत असोज ३० गते दिउँसो भेटिएको थियो।
कात्तिक २१, २०७९ सोमबार ००:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।