समाचार डिलेट गर्ने निर्देशनसहितको पत्र जानू प्राविधिक त्रुटि भएको आयोगको दाबी

समाचार डिलेट गर्ने निर्देशनसहितको पत्र जानू प्राविधिक त्रुटि भएको आयोगको दाबी

काठमाडौं : सेतोपाटीमा प्रकाशित समाचार डिलेट गर्न निर्देशनसहित गएको पत्र प्राविधिक कारणले प्रेषित भएको भन्दै निर्वाचन आयोगले पत्र फिर्ता लिएको छ।

आयोगको कानुन अधिकृत मोहनराज जोशीको हस्ताक्षर रहेको पत्रमा प्रेस स्वतन्त्रता सम्बन्धी संवैधानिक व्यवस्थाको आयोगले सम्मान गर्ने र सञ्चारमाध्यम अनुगमनको क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको रहेको स्वीकार गरेको छ।

सेतोपाटी डटकममा एमाले उम्मेदवार अग्नि खरेलको छोरा अमेरिकी सेनामा रहेको तर नेपालमा पनि उनको मतदाता सूचीमा नाम रहेको भन्दै खरेलको भनाइसहित समाचार प्रकाशित गरेको थियो।

आयोगले शनिवार पत्र पठाउँदै सो समाचार बदनियतपूर्वक प्रकाशित भएको भन्दै समाचार हटाएर प्रस्टीकरण दिन २४ घण्टाको समय दिएको थियो।

पत्र सार्वजनिक भएसँगै आयोग स्वेच्छाचारी भएको भन्दै तीव्र आलोचना भएको थियो। सामाजिक सञ्जालमा प्रमुख आयुक्त दिनेश थपलिया नै आलोचनाको केन्द्रमा परेका थिए।

आयोगको पत्रमा प्राविधिक कारण भनिए पनि सो पत्र कसको निर्देशनमा गएको हो भन्ने छानबिन गर्नेबारे केही उल्लेख छैन।

पछिल्लो समय आयोग आफ्नै गतिविधिले पटक-पटक विवादमा आउने गरेको छ। गुणस्तरहीन निर्वाचन प्रचार सामाग्रीबाट उ विवादमा आएको थियो।

सो सामाग्री हटाएको आयोगले भष्माशुरको अर्को भिडियो राख्यो जुन भारतीय प्रचार सामाग्रीबाट चोरिएको देखिएको थियो। पछिल्लो समय आयोगका पदाधिकारीले सञ्चार हेर्न भनेर आफूखुसी विनाप्रतिष्पर्धा विभिन्न पदमा नियुक्त गरेकाको योग्यताबारे बहस सुरु भएको छ।

कात्तिक २१, २०७९ सोमबार ००:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।