पाँच सय १४ मतको बलमा ३६ हजार मत रहेको गठबन्धन उम्मेदवार हराउने रणनीतिमा ज्ञानेन्द्र शाही

जुम्ला : युट्वमा चर्का भिडियो राखेर सार्वजनिक छवि बनाउन सफल ज्ञानेन्द्र शाही अहिले जुम्लामा छन् प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रूपमा। प्रत्यक्ष राजनीतिमा संलग्न नहुँदा कहिले एमालेका कार्यकर्ताले कुटेर त कहिले आफ्नै व्यवहारले पटक-पटक बदनामी कमाएका उनी अहिले राप्रपाका नेताको रूपमा जिल्लामा सक्रिय भएका हुन्।
पाँच दलीय गठबन्धन र एमालेका उम्मेदवारलाई हराएर सांसद बने के गर्ने भन्ने मतदाताको प्रश्नमा उनले' सांसद भए शक्तिशाली मन्त्री हुन्छु अनि जिल्लाको विकास गर्छु' भन्दै ढाँट्ने गरेका छन्।
निर्वाचनको परिणामले राप्रपालाई सत्ताधारी बनाए अलग नत्र राप्रपा आफैँ सरकार बनाउन सक्ने हैसियतसहित प्रतिनिधि सभामा पुग्ने सम्भावना छैन। राप्रपाको आन्तरिक आङ्कलनै समानुपातिकमा ६ देखि ८ अनि प्रत्यक्षमा २ देखि ४ सिट आउने छ। अधिकतम आँकडा मिल्दा पनि राप्रपा १२ सिट सहित प्रतिनिधि सभामा पुग्ने देखिन्छ।
२०७४ मा एक सिट मात्र पाएको दलले १२ सिट पाएमा राम्रै उपलब्धि हो। तर १२ सिटले सरकार गठन भने सम्भव छैन। अबको सरकारको नेतृत्व गर्ने गरी बनेको पाँच दलीय गठबन्धनमा दरार उत्पन्न भएर नयाँ समीकरण बनेमा वा एमालेलाई सरकार बनाउन राप्रपा निर्णायक शक्ति भएमा भने राप्रपा सरकारमा जान सक्छ। अहिलेको दुवै तहको निर्वाचनमा पनि राप्रपाले एमालेसँग सहकार्य गरेको छ।
सो जिल्लाको प्रतिनिधि सभामा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रकी गोमा गौतम कुँवर उम्मेदवार छिन्। एमालेले रतननाथ योगीलाई उठाएको छ। प्रदेश सभाको २ सिट कांग्रेस र एकीकृत समाजवादीले बाँडेका छन्।
काङ्ग्रेस-एमालेकै मतदाताको भर
सामाजिक सञ्जालमा निकै सक्रिय रहने शाहीका चुनाव प्रचारका भिडियोहरू टिकटक र फेसबुकमा टन्नै छन्। ती भिडियोमा उनी स्थानीय मुद्दालाई प्राथमिकता दिइरहेका छन्।
'जुम्लाबाट सांसद बनेर काठमाडौं जाने नेता छान्दा काठमाडौंका नेताको जुत्ता पुच्छ्ने कि कठालो समात्ने सांसद पठाउने अब निर्णय गर्नुपर्ने बेला भएको छ' जुम्लाको श्रीनगरको कार्यक्रममा उनले भने।
उनी पहिला जस्तो कांग्रेस, एमाले अनि माओवादीप्रति त्यति आक्रामक देखिँदैनन्। उनी सबै दलका सिद्धान्त राम्रो रहेको तर नेताहरू भने खराब भएको दाबी गर्ने गरेका छन्।
उनी चुनावी प्रचारमा बढी कांग्रेसका मतदाता फकाउन केन्द्रित देखिन्छन्। कांग्रेसको रुखलाई भोट दिँदै आएका मतदातालाई यो पाली धर्मसंकटै नभएको, रुख चिन्है छैन प्रतिनिधि सभामा भन्दै आफूलाई मत दिन फकाउँछन्। अनि एमाले र माओवादीका मतदातालाई निर्वाचनमा चार मत हाल्न पाउने भन्दै तीन मत आफ्नो पार्टीलाई हाल्नु भन्दै एक भोट हलोमा हाल्दा के हुन्छ भनेर फकाउँछन्।
नेपाली भाषाको उद्गम थलो अनि पर्यटन र जडीबुटीको खानी भए पनि बलियो नेता नपाउँदा विकास हुन नसकेको भन्दै ठुलो दलको आलोचना गर्ने गरेका छन्।
'काठमाडौं लोडसेडिङ मुक्त भइसक्यो। तर हामी यहाँ मोबाइलको लाइट बालेर बस्नु परिरहेको छ,' श्रीनगरको सम्बोधनमा उनले भने।
निकै कमजोर राप्रपा
वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम हेर्ने हो भने जुम्लामा राप्रपा निकै कमजोर छ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेस ठुलो दल देखिन्छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले १६ हजार ७५ मत पाएका थिए। गठबन्धनमा रहेका माओवादी केन्द्रले १४ हजार १ सय ७५ र एकीकृत समाजवादीका उम्मेदवारले ६ हजार १ सय ९५ मत पाएका थिए। एमालेका उम्मेदवारले ६ हजार ९६२ मत पाएको थियो ।
राप्रपाका उम्मेदवारहरूले जम्मा ५ सय १४ मत मात्र पाएका थिए। स्थानीय तहको मत परिणाम कायमै रहे प्रमुख दल एमाले नै पाँच दलीय गठबन्धनभन्दा ३० हजार मतले पछाडि पर्ने देखिन्छ। तर स्थानीय तहको निर्वाचनमा पार्टीको हजार मत पनि नदेखिएको पार्टीका उम्मेदवार शाही चुनाव आफैँले जित्ने दाबी गर्दै हिँडिरहेका छन्।
गठबन्धन अनि एमालेका उम्मेदवारहरूले पनि स्थानीय विकास, पर्यटनको विकास अनि स्थानीय कृषि र जडीबुटी केन्द्रकी कारखानाको निर्माणको अजेण्डालाई जोड दिँदै आएका छन्।
कात्तिक २०, २०७९ आइतबार १९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।