भारतीय कम्पनीको साझेदारीमा नेपालको रमेश कर्पले चार अर्बको टायल्स उत्पादन कारखाना बनाउने

भारतीय कम्पनीको साझेदारीमा नेपालको रमेश कर्पले चार अर्बको टायल्स उत्पादन कारखाना बनाउने

काठमाडौँ : नेपालमा भारती कम्पनीको साझेदारीमा चार अर्बमा लगानीमा नयाँ टायल्स कम्पनी खुल्ने भएको छ। भारतको कजारिया सेरामिक्स लिमिटेड र नेपालको रमेश कर्पबीच नेपालमा टाईल्स  उत्पादन कम्पनी स्थापना गर्ने सम्बन्धमा सम्झौता भएको हो।

उक्त सम्झौताअनुसार कम्पनीले  नेपालमा हालकै सबैभन्दा ठुलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने छ जसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। काठमाडौँमा दुवै समूहको प्रतिनिधिको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भइसकेको छ।

रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलान र कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष/प्रबन्ध निर्देशक अशोक कजारियाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार कम्पनीमा दुवैको लगानी ५०-५० प्रतिशत हुनेछ। कम्पनी नेपालमा स्थापना हुनुपर्ने सम्झौतामा उल्लेख छ।

सिरामिक र भिट्रिफाइड टाईल्स उत्पादन गर्ने नवनिर्मित कारखानाको उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुने र सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा ल्याउने कम्पनीले जानकारी दिएको छ।

नयाँ योजना बारे कजारिया सेरामिक्स लिमिटेडका संयुक्त प्रबन्ध निर्देशक अशोक कजारियाले नेपाल सधैँ महत्त्वपूर्ण बजार भएको र दुई दशकभन्दा बढी समयदेखि आफ्नो उत्पादन उपस्थित रहेको भन्दै नेपालकै कारखाना स्थापना गर्दा नेपालको बजारमा उपस्थिति अझ बलियो बनाऊ बताए।

उनले यो परियोजना तत्काल सुरु गरी २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने बताए।

रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलानले परियोजना ऐतिहासिक रहेको भन्दै यसले देशमा रोजगारी सृजना गर्न महत्त्वपूर्ण सहयोग पुग्ने बताए। उद्योगबाट उत्पादित विश्वसनीय टाईल्स  र अन्य उत्पादनहरू देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुने उनले बताए।

रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ताले नेपाललाई औद्योगिकीकरण गर्ने सरकारको लक्ष्यलाई साकार बनाउन रमेश कर्प प्रतिबद्ध रहेको बताए। आयोजना सुरुवातसँगै देशको अर्थतन्त्र बढ्नुकासाथै मुलुकमा ठुलो लगानीको वातावरण सृजना गर्ने उनले बताए।

कात्तिक २०, २०७९ आइतबार १८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।