कांग्रेसका उम्मेदवारहरूले पाए सात करोड चुनाव खर्च

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका उम्मेदवारहरूलाई सात करोड ६ लाख चुनाव खर्च दिएको छ। पार्टीको तर्फबाट उम्मेदवारहरूको खर्चका लागि प्रतिनिधि सभाका उम्मेदवरलाई प्रति उम्मेदवार ४ लाख र प्रदेश सभाका उम्मेदवारहरूलाई २ लाख खर्च दिएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार पार्टीले दुवै तहको निर्वाचनका लागि आधिकारिक उम्मेदवारको टिकटसँगै उम्मेदवारहरूलाई खर्च दिँदै आएको छ।
पाँच दलीय गठबन्धनमा रहेकाले कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छैन। गठबन्धनमा आफ्नो भागमा परेको ९१ सिटमा मात्र उसले उम्मेदवारी दिएको छ। प्रति उम्मेदवार ४ लाखको दरले प्रतिनिधि सभाका उम्मेदवारहरूको प्रचारमा पार्टीले ३ करोड ६४ लाख चुनाव खर्च दिएको छ।
प्रदेश सभातर्फ काङ्ग्रेसबाट एक सय ७९ जनाले उम्मेदवारी दिएका थिए। प्रति उम्मेदवार २ लाखको दरले प्रदेश सभाका उम्मेदवारहरूले पार्टीबाट ३ करोड ४२ लाख खर्च पाएका छन्।
कात्तिक २०, २०७९ आइतबार १५:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।