झापा पुगेर प्रमुख निर्वाचन आयुक्तले भने- ‘पुनः मतदान गर्नुपर्ने अवस्था आउन दिन्नाैं’

झापा : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने बताएका छन्।
आइतबार झापामा भएको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रमको उद्घाटन सत्रमा थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था नहुने बताए।
सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्व वा व्यक्तिलाई नियमसंगत कारबाही गरिने चेतावनी दिँदै उनले सोही कारण पुनः मतदान हुन नदिने स्थिति सिर्जना गराउन आयोग जुटेको स्पष्ट पारे।
कुनै पनि मतदाताले आफूलाई लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट अफ्ठ्यारो स्थिति सृजना गरियो भन्ने गुनासो आउने वातावरण सृजना नै नहुने गरी आयोग देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरेको उनको भनाइ थियो।
निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराइने बताउँदै उनले सामाजिक सञ्जालमार्फत हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणाष्पद अभिव्यक्तिलाई नियमन गर्नसमेत आयोग लागि परेको जानकारी गराए।
निर्वाचनको स्वच्छतासँगै लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको भरपूर उपभोग गर्न सक्ने वातावरणका साथ यो निर्वाचनलाई सम्पन्न गराउन आयोग अघि बढेको उहाँले स्पष्ट पारे।
कार्यक्रममा झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावाली, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, जिल्ला प्रहरी प्रमुख विश्वमणि पोखरेल, नेपाल बार एसोसिएशनका पदाधिकारी, विभिन्न उम्मेद्वार, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो।
कात्तिक २०, २०७९ आइतबार १३:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।