बंगलादेशलाई हराउँदै पाकिस्तान टी–ट्वन्टी विश्वकपको सेमिफाइनलमा

काठमाडौं : बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ।
आइतबार एडलेड ओभलमा १२८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ११ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य भेटेपछि सेमिफाइनल प्रवेश गरेको हो।
उसका लागि मोहम्मद रिजवानले ३२, मोहम्मद हरिसले ३१, बाबर आजमले २५ बनाउँदा सान मसूदले अविजित २४ रन बनाए।
बलिङतर्फ बंगलादेशका सकीब अल हसन, नसुम अहमद र इबादत हुसेनले एक–एक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो।
उसका लागि नजमुल हुसेन सान्तोले ५४, सौम्य सरकारले २०, लिट्टन दासले १० रन बनाएर आउट हुँदा अफिफ हुसेनले २४ रन बनाएर अविजित रहे।
बलिङतर्फ पाकिस्तानका शाहीन शाह अफ्रिदीले चार र साहदब खानले दुई विकेट लिए।
यसअघि नै समूह २ बाट भारत सेमिफाइनल प्रवेश गरिसकेको छ। यद्यपि भारतले आफ्नो अन्तिम खेल जिम्बावेसँग खेल्न बाँकी नै छ।
समूह १ बाट न्यूजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन्।
कात्तिक २०, २०७९ आइतबार १३:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।