सेमिफाइनल समीकरण : दक्षिण अफ्रिका हार्दा भारतलाई चिठ्ठा पर्यो, पाकिस्तानको सम्भावना पनि बलियो

काठमाडौं : नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १४ रनले पराजित गरेसँगै अस्ट्रेलियामा जारी आईसीसी टी–ट्वेन्टी क्रिकेटको समूह २ तर्फको सेमिफाइनल समीकरण रोचक मोडमा आइपुगेको छ।
एडलेड ओभलमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर पनि पूरा गर्न नसकेपछि सेमिफाइनल समीकरण रोचक मोडमा पुगेको हो।
दक्षिण अफ्रिकाका रिली रोस्वाले २५ रन बनाउँदा हेनरिच क्लासेनले २१ रन जोडे। तेम्बा बभूमाले २० तथा एडेन मार्कम र डेलिड मिलरले समान १७ रन बनाए।
बलिङतर्फ नेरदल्याण्ड्सका ब्रान्डन ग्लोबरले तीन तथा फ्रेड क्लासिन र बस दी लिडेले समान दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेदरल्याण्ड्सले निर्धारित ओभरमा चार विकेट गुएमार १५८ रन बनाएको थियो। उसका लागि कोलिन एकरमनले ४१, स्टेफेन माइबर्गले ३७, टम कुपरले ३५, म्याक्स ओडाउडले २९ तथा स्कट एडवर्डले १२ रन ल्याए।
बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले दुई तथा एडेन मार्कम र एनरिच नोर्टजेले समान एक विकेट लिए।
नेदरल्याण्ड्सले समूह चरणको अन्तिम खेलमा जित हात पारे पनि उ यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ। उसले दक्षिण अफ्रिको सेमिफाइनल पुग्ने सम्भावनामा भने क्षीण बनाइदिएको छ।
आजै यही समूहको पाकिस्तान र बंगलादेश तथा भारत र जिम्बावे भिड्दैछन्। दक्षिण अफ्रिका हारेसँगै भारतले खेल जिते पनि हारे पनि सेमिफाइनल पुग्नेछ।
यस्तै, पाकिस्तानले बंगलादेशलाई हराएमा सेमिफाइनलको टिकट काट्ने पक्का छ भने बंगलादेशले जितेको खण्डमा रनरेटका आधारमा दक्षिण अफ्रिका नै पुग्ने सम्भावना पनि देखिन्छ।
कात्तिक २०, २०७९ आइतबार ०९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।