भैरहवाबाट गृहमन्त्रीले भने- ‘प्रचण्डका लागि रुपन्देही–३ छाड्न तयार थिएँ’

भैरहवाबाट गृहमन्त्रीले भने- ‘प्रचण्डका लागि रुपन्देही–३ छाड्न तयार थिएँ’

भैरहवा : गृहमन्त्री बालकृष्ण खाँणले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि आफ्नो निर्वाचन क्षेत्र रुपन्देही–३ छाड्न तयार भएको बताएका छन्।

शनिबार भैरहवामा माओवादी केन्द्रले आयोजना गरेको बृहत् कार्यकता भेलामा मन्त्री खाँणले गठबन्धनका शीर्ष नेताहरूका लागि आफ्नो चुनावी अभियान बीचमै छाडेर उनीहरूको निर्वाचन क्षेत्रमा चुनावी मोर्चा बनाउन जान तयार रहेको भन्दै प्रचण्डका लागि आफूले रुपन्देही–३ छाड्न तयार रहेको बताए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निर्वाचनमा घेराबन्दी गरि पराजित गर्न सारा स्वदेशी र विदेशी शक्ति लागेको सूचना आफूले पाएपछि यसबारेमा प्रचण्डलाई जानकारी गराएको र पाँच दलीय गठबन्धनकै प्रस्तावमा प्रचण्डलाई निर्वाचनमा गोरखा लगिएको उनले बताए।

‘यस निर्वाचनमा मैले चुनाव जित्छु की हार्छु भन्ने भन्दा पाँच दलीय गठबन्धनका शीर्ष नेताले जित्नुहुन्छ की नाइ? भन्ने सवाल महत्वपूर्ण छ,’ खाँणले भने, ‘प्रचण्डका लागि मैले आफ्नो निर्वाचन क्षेत्र रुपन्देही ३ छाड्न तयार थिएँ।’

मुलुकको विकासका लागि इतिहास बनाएका र देशलाई जोगाएका शीर्ष नेताहरू निर्वाचनमा पराजित हुन नहुने भन्दै उनले बेला–बेलामा कांग्रेस र बामपन्थी शक्ति मिलेर नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तन ल्याएको उल्लेख गरे।

०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको आगमन, २०६०–०६२ को संयुक्त आन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य, १२ बुँदे सहमति यसैको परिणाम भएको उनले बताए।

माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन र राजतन्त्रलाई हटाउन स्वर्गीय गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आपसी वार्ता र पहलबाटमात्र सम्भव भएकाले दुवै नेताको ठूलो योगदान रहेको उनले बताए।

फरक प्रसङ्गमा मन्त्री खाँणले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि बहुमत ल्याएर संघ र सातै प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार बनाउने दाबी गरे।

उनले थपे, ‘धेरै स्थानीय तहमा गठबन्धनको सरकार बनेको छ, अब सात प्रदेश र संघमा पनि गठबन्धनले बहुमत ल्याउँछ र सरकार बनाउँछ। देश विकास गर्छ, समृद्धि हासिल गर्छ। जनजीविकामा परिवर्तन ल्याउँछ।’

कात्तिक १९, २०७९ शनिबार १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।