आफ्नै पूर्व प्रतिद्वन्द्वीलाई जिताउन एक भए रुपन्देहीका आचार्य र मुसलमान

आफ्नै पूर्व प्रतिद्वन्द्वीलाई जिताउन एक भए रुपन्देहीका आचार्य र मुसलमान

बुटवल : भनिन्छ– ‘राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन।’ यो भनाई अहिले रुपन्देही क्षेत्र नंं ५ को निर्वाचनमा चरितार्थ भएको छ। २०७४ सालको आम निर्वाचनमा रुपन्देही ५ मा एक अर्काविरुद्ध उम्मेदवार बनेका नेताहरू यो निर्वाचनमा आफ्नै पूर्व प्रतिद्वन्द्वीलाई जिताउन एक भएका छन्।

यसअघिको प्रतिनिधि सभाको निर्वाचनमा अलग–अलग पार्टीबाट उम्मेदवार बनेका माओवादीका डिलाराम आचार्य र जनता समाजबादी पार्टीका मोहम्मद वकिल मुसलमान यो निर्वाचनमा भरतकुमार शाहलाई जिताउने प्रतिबद्धता जनाएका छन्। स्मरणीय छ, २०७४ को निर्वाचनमा भरतकुमार शाह १३ हजार बढी फरक मतले जित्दै गर्दा आचार्य र मुसलमान पराजित भएका थिए।

संयुक्त लोकतान्त्रिक गठबन्धनमा आवद्ध विद्यार्थीहरूको शनिबार सैनामैना–६ कलौनीमा भएको भेलामा रुपन्देही–५ बाट नेपाली कांग्रेसका उमेदवार भरतकुमार शाह, माओवादी केन्द्रका सचिव डिलाराम आचार्य र तत्कालीन जनता समाजवादी पार्टीका नेता तथा उम्मेदवार बनेका मोहम्मद वकिल मुसलमान एउटै मञ्चबाट आफूहरू प्रतिद्वन्द्वी भए पनि अहिले समयले एकै स्थानमा ल्याइदिएको बताए। 

आचार्य र मुसलमानले यसपटक समय र परिस्थितिले आफूहरू तीनैजनालाई एकै स्थानमा ल्याएको बताउँदै निर्वाचनमा भरतकुमार शाहलाई जिताउन युवा विद्यार्थीहरुसँग आग्रह गरे। उनीहरूले ५ ‘क’ मा प्रदेश सभातर्फ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका विनोद पहाडी र ‘ख’ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका फकरुद्दीन खानलाई समेत विजयी गराउनसमेत अनुरोध गरे।

भेलालाई सम्वोधन गर्दैगठबन्धनका तर्फबाट रुपन्देही ५ का नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले यसअघि आफूसँगै निर्वाचन लडेका नेताहरू अहिले आफूलाई जिताउन जनताको घरदैलोमा सहभागी बन्दा एकदमै भाग्यमानी महसुस भएको बताए। उनले तीनजना उठ्दा १३ हजार फरक मतले जितेको स्मरण गर्दै अबको निर्वाचनमा जितको अन्तर दोब्बर बनाउने जिकिर गरे।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले यसअघि तीनैजना एक अर्काको प्रतिद्वन्द्वी रहे पनि समय र परिस्थितिले अहिले आफूहरुलाई एकै स्थानमा ल्याएको बताउँदै भरतकुमार शाहलाई भोट दिएर जिताउन आग्रह गरे। उनले यो निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी वनाउन काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिवद्धता जनाउँदै संघीयसँगै प्रदेशका उम्मेदवार विनोद पहाडी र फकरुद्दीन खानलाई बिजयी बनाउनुपर्नेमा जोड दिए।

सोही कार्यक्रममा यसअघि शाहका प्रतिद्वन्द्वी मोहम्मद वकिल मुसलमानले अघिल्लो निर्वाचनमा आफूले १५ हजार मत ल्याएर सम्मानजनक पराजय व्यहोरेको स्मरण गर्दै यो निर्वाचनमा गठबन्धनका उम्मेदवारले ३० हजारको फराकिलो मतान्तरले विजयी हुने दाबी गरे।

कार्यक्रममा रुपन्देही ५ क मा गठबन्धनका उम्मेदवारमाओवादीका विनोद पहाडीले गठबन्धनको जितलाई अव कसैले पनि रोक्न नसक्ने बताउँदै युवाहरुको काँधमा अहिले ठूलो जिम्मेवारी आएको बताए।

त्यसैगरी कांग्रेसका युवा नेता विष्णु पोखरेलले रुपन्देही ५ अहिले गठबन्धनका लागि सवैभन्दा सुरक्षित क्षेत्र भएको बताउँदै गठबन्धनका तीन उमेदवारको जीत निश्चित भैसकेको उल्लेख गरे।

त्यस्तै, नेपाली कांग्रेस रुपन्देहीकी उपसभापति डा. अनिता ढुंगाना शाहले विगतमा रुपन्देही ५ मा भरतकुमार शाहको नेतृत्वमा धेरै विकासका काम भएकोले यसपटक पनि मतदाताले शाहकै नेतृत्वमा रहेको गठबन्धनको टिमलाई बिजयी वनाउने कुरामा ढुक्क रहेको उल्लेख गरे।

कात्तिक १९, २०७९ शनिबार १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।