गुल्मीमा एमालेले बाँड्न लागेकाे जस्तापाता प्रहरीकाे नियन्त्रणमा, वडाध्यक्षले स्वीकारे गल्ती

गुल्मी : गुल्मीमा निर्वाचन आचारसंहिता विपरति बाँड्न लागिएको जस्तापाता प्रहरीले नियन्त्रणमा लिएको छ।
मुसिकोट नगरपालिका वडा नम्बर ४ को कार्यालयले केही स्थानीयका लागि २५ पाता टिन दिएपछि निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो।
शनिबार वडा कार्यालयबाट एमालेले जस्तापाता बाँडेको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो।
निर्वाचनका बेला एमालेले टिन दिएर भोट मागेको भन्दै आफूहरूले बरामत गरी प्रहरीलाई बुझाएको कांग्रेस वडासभापति गुप्तबहादुर कार्कीले जानकारी दिए।
सार्वजनिक बिदाको दिन एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले टिन दिनु आपत्तिको विषय रहेको कार्कीले बताए।
वडाध्यक्ष जुक्त बहादुर छन्तेलले जस्तापाता दिएको स्वीकार गर्दै पहिले नाम टिपाएकालाई वितरण गरिएको बताए।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधवराज खरेलले जस्तापाता वामी प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिए।
कात्तिक १९, २०७९ शनिबार १७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।