टी–ट्वेन्टी विश्वकप : इंग्ल्याण्ड सेमिफाइनल प्रवेश गर्दा घरेलु टोली नै बाहिरियो

टी–ट्वेन्टी विश्वकप : इंग्ल्याण्ड सेमिफाइनल प्रवेश गर्दा घरेलु टोली नै बाहिरियो

काठमाडौं : श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्याण्ड, अस्ट्रेलियामा जारी आईसीसी टी–ट्वेन्टी विश्कपको सेमिफाइनल प्रवेश गरेको छ।

शनिबार सिड्नीमा भएको खेलमा १४२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले २ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि एलेक्स हल्सले ४७, बेन स्टोक्स्ले ४२ र जस बट्लरले २८ रन बनाए।

बलिङतर्फ लाहिरु कुमारा, वानिन्दु हसरङ्ग डि सिल्भा र धनन्जय डी सिल्भाले समान दुई–दुई विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ राजेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो। उसका लागि पथुम निस्सान्काले ६७, भानुका राजापाक्षेले २२ र कुशल मेन्डिसले १८ रन बनाए।

बलिङतर्फ इंग्ल्याण्डका मार्क वुडले तीन तथा अदिल रसिद, साम करन, क्रिस वोक्स र बेन स्टक्सले समान एक–एक विकेट लिए।

इंग्ल्याण्डको जितसँगै घरेलु टोली अस्ट्रेलियाको सेमिफाइनल पुग्ने सपना पनि तुहिएको छ।

समूह १ बाट यसअघि नै अफगानिस्तान, आयरल्याण्ड, श्रीलंका बाहिरिसकेका थिए भने न्यूजिल्याण्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ।

कात्तिक १९, २०७९ शनिबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।