नेपाल-भारत सीमा नाका मंसिर १ गतेदेखि तीन दिन बन्द हुने

नेपाल-भारत सीमा नाका मंसिर १ गतेदेखि तीन दिन बन्द हुने

बुटवल : मंसिर १ गते राति १२ बजेदेखि तीन दिन नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म बन्द गर्ने निर्णय नेपाल–भारत सीमावर्ती जिल्लाहरूको सुरक्षा समन्वय बैठकले गरेको हो।

रुपन्देहीको छपियामा सम्पन्न बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरू र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका डिष्ट्रिक मजिष्ट्रेडसहित सुरक्षा प्रमुखहरू सहभागी थिए।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्याहरुलाई सम्बोधन गर्न बैठक बसेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

बैठकमा सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन नियन्त्रणका वारेमा जनचेतनाका कार्यक्रम सञ्चालन, निगरानी तथा सुरक्षा उपायहरू अपनाउने, नक्कली नोट नियन्त्रण लगायतका साझा सवालका विषयमा विभिन्न निर्णय गर्दै दुवै पक्षबाट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले  जानकारी दिए।

कात्तिक १९, २०७९ शनिबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।