कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने

कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने

काठमाडौं: कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन हुने भएको छ। हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्याफ्टिङलाई निरन्तरता दिने भएको हो।

बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै  र्याफ्टिङका लागि परीक्षण समेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेले दुई घण्टा र लामो यात्राका लागि दुई देखि तीन दिनसम्मको यात्रा गराउने भएको छ।

“अहिले कालीगण्डकी नदीमा र्याफ्टिङले निरन्तरता पाउन सकेको छैन। अब भने साउने बहरमा रहेको हार्नेस रिसोर्टदेखि र्याफटिङ सुरु हुनेछ”, कम्पनीका सञ्चालक नरेन्द्र केसीले भने, “स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय मिर्मीमा पुगेर यात्रा टुङ्गिन्छ।”

उक्त नदीमा पोखराका आधा दर्जन कम्पनीमार्फत र्याफ्टिङ सञ्चालन हुँदै आएको थियो। अब भने हार्नेस कम्पनीले कुश्माबाट नै र्याफटिङको सुविधा उपलब्ध गराउने सञ्चालक सुनिल बानियाँले जानकारी दिए। उनका अनुसार सफल परीक्षण सकिएको हुँदा हप्ता दिनभित्रै र्याफ्टिङका लागि बुकिङ खुल्ला गरिने छ।

र्याफ्टिङका लागि इजरायल, अमेरिका, युरोपलगायत देशबाट पर्यटक आउने गरेका छन्। विदेशीसँगै स्वदेशी पर्यटक समेत कालीगण्डकीमा र्याफ्टिङको मज्जा लिन आइपुग्छन्। र्याफटिङका लागि चैत, वैशाख, असोज, कात्तिक र मङ्सिर महिना उपयुक्त मानिन्छ।

कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकनका साथै प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन्।

कात्तिक १९, २०७९ शनिबार ०७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।