ओलीले सार्वजनिक मञ्चबाटै कटाक्ष गरेपछि रावलको जवाफ– ‘म बुढो भए तपाईं कसरी तन्नेरी ?’

ओलीले सार्वजनिक मञ्चबाटै कटाक्ष गरेपछि रावलको जवाफ– ‘म बुढो भए तपाईं कसरी तन्नेरी ?’

काठमाडौं : शुक्रबार एमालेले कञ्चनपुरमा गरेको चुनावी सभामा अध्यक्ष केपी शर्मा ओलीले भीम रावलबारे टिप्पणी गरे।

उनले सम्बोधन गरिरहेको बेला दर्शक दीर्घाबाट भीम रावलको खोजी भएपछि ओलीले आक्रोशित हुँदै भीम रावल बुढो भइसक्नुभयो भन्दै कटाक्ष गरे।

‘भीम रावलको तपाईंलाई किन चिन्ता पर्यो? २०४८ सालदेखि एकछिन मुख खाली छैन। बुढो भइसक्नुभयो । बेकार किन भीम रावलको चिन्ता? अरुलाई पालो दिनुपर्दैन ? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्यो? के भीम रावल? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’

ओलीले आफूमाथि टिप्पणी गरेपछि रावलले पनि ओलीप्रति कडा शब्दमा टिप्पणी गरेका छन्। उनले ओलीको बोलीमा क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव देखिने बताएका छन्।

आफ्नो मुख खाली नभएको भन्दै भाषण गरेको जवाफ दिँदै रावलले भनेका छन्, ‘ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’को लागि मुख किन वाउनुभएको त?’

आफूलाई बुढो भनेकोमा पनि उनले असन्तुष्टि व्यक्त गर्दैै जवाफ दिएका छन्, ‘म ६७ वर्ष लागेकालाई बुढो भन्ने हो भने ७० वर्ष कटिसकेको ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो? म भन्दा उमेर बढि भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो?’

रावलले आफूले पालो दिनुपर्ने भए ओली लगायत सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा भएका अरुहरूले पनि पालो दिनुपर्ने तर्क गरे। ओलीले व्यक्तिगत रूपमा अपमान हुने गरी बोलेको भन्दै उनले अछाम लगायत देशका विभिन्न जिल्ला थुप्रै ओलीहरू रहेको स्मरणसमेत गराए।

साथै उनले ती ओलीहरूबाट एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री किन नबनाउने त भनेर प्रश्नसमेत गरेका छन्। यस्तै रावलले पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दागर्दै प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको पर्दा उघ्रेको समेत बताए।

अछामबाट प्रतिनिधि सभाको सदस्यमा एमालेबाट भीम रावलले नाम एकल सिफारिस भए पनि अध्यक्ष ओलीले उनको नाम काटेर झपट रावललाई उम्मेदवार बनाएका थिए। पार्टीको दशाैं महाधिवेशनमा आफूविरुद्ध अध्यक्ष पदमा उम्मेदवारी दिएको र संसद् विघटनको क्रममा आफूलाई साथ नदिएको भन्दै ओली रावलप्रति रुष्ट छन्।

रावलकाे टिप्पणी:-

कात्तिक १८, २०७९ शुक्रबार २२:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।