ओलीलाई ‘बनमारा झार’ भन्दै भुसालले थपे- ‘पञ्चहरूले सूर्यबाट चुनाव लड्दा हामीले माफी माग्नुपर्ने?’

रुपन्देही : रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बनमारा झार’ को संज्ञा दिएका छन्।
देशको संवैधानिक फूलहरूको बगैंचामाथि बनमारा झारले आक्रमण गरेको भन्दै उनले टिप्पणी गरेका हुन्।
भुसालले भने, ‘ओली साँच्चिकै बनमार झार रहेछन्, अन्ततः उनले आफ्नो चरित्र देखाइ छाडे। बनमाराले आफ्नो अस्तित्व समेत संकटमा पार्ने गरी बगैंचा उजाड बनाउने कोशिस गर्यो।’
शुक्रबार जिल्लाको धकधइ क्षेत्रका मतदाताहरूसँग कुरा गर्दै भुसालले एमालेमा रहेका अधिकांश नेता कार्यकर्ताहरू इमान्दार रहे पनि नेतृत्वले गलत गरेको तर्क गरे।
ओलीले एमालेको पार्टी प्रणाली मात्रै नभएर लोकतन्त्र र देशको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेर बनमारा झारको चरित्र देखाएको भुसालको भनाइ छ।
कमल थापाहरू सूर्य चिन्हबाट चुनाव लडेकोतर्फ संकेत गर्दै भुसालले भने, ‘पञ्चहरूले एमालेको चिन्ह लिएर लड्ने तर पार्टीमा वर्षौंसम्म काम गरेका नेताहरूले टिकटका लागि माफी माग्नुपर्ने? यस्तो पनि हुन्छ?’
आफूले साढे ४ दशक पसिना बगाएको पार्टीबाट विद्रोह गरेको उल्लेख गर्दै उनले इमान्दार एमाले कार्यकर्ताहरूले आफूलाई साथ दिने बताए।
भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं. १ (ख) का उम्मेदवार अब्दुल रज्जाकले गठबन्धनबाट नै विकास र समृद्धि सम्भव भएको दाबी गरे।
आफू संविधान सभा सदस्य निर्वचित भएको बेला गरेका कामको चर्चा गर्दै उनले अबको आवश्यकता संविधानको रक्षा र पुर्वाधार एवं सामाजिक विकास भएको बताए।
त्यसैगरी रुपन्देही १ (क) का उम्मेदवार विश्वनाथ यादवले आफूहरू धेरै नबोल्ने तर बोलेजती काम गरेर देखाउने बताउँदै गठबन्धनलाई विजयी गराउन अनुरोध गरे।
क्षेत्रका ३३ वटै वडामा संयुक्त कार्यालय उद्घाटन गरिसकेको गठबन्धनले आइतबारबाट औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरू हुने निर्वाचन परिचालन कमिटीका संयोजक हिराबहादुर खत्रीले जानकारी दिए।
कात्तिक १८, २०७९ शुक्रबार २०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।