उपराष्ट्रपति र निर्वाचन आयुक्तहरूबीच भेट, आयोगका दुई कामको प्रशंसा

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनसँग निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीले भेटवार्ता गरेका छन्।
उपराष्ट्रपति निवास लैनचौरमा भएको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा जानकारी गराएका थिए।
साथै उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन आयोगले कुनै कसर बाँकी नराख्ने बताए।
उपराष्ट्रपति पुनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने कार्यमा आयोगले पूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे।
उनले आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने युवाहरूले समेत मतदान गर्न पाउने गरी ‘कट–अफ–डेट’ तय गरेको र आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न जान नपाउने सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि प्रतिनिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अस्थायी मतदाताको समेत व्यवस्था गरेकोमा आयोगको उच्च प्रशंसा गरे।
कात्तिक १८, २०७९ शुक्रबार १९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।