पाँच दलीय गठबन्धनसँग विकासको स्पष्ट खाका छ : गृहमन्त्री खाँण

पाँच दलीय गठबन्धनसँग विकासको स्पष्ट खाका छ : गृहमन्त्री खाँण

भैरहवा : गृहमन्त्री बालकृष्ण खाँणले विकासको स्पष्ट खाका पाँच दलीय गठबन्धनसँग भएको बताएका छन्।

मुलुुकमा, शान्ति, स्थिरता, विकास, शुसासन र समृद्धिका लागि पाँच दलीय गठबन्धन निमार्ण भएको प्रस्टाउँदै उनले विकासको स्पष्ट खाकासहित गठबन्धन अगाडि बढेको दावी गरे। खाँणले विकासप्रति प्रतिबद्ध र योजना भएका उम्मेदवारलाई जिताउन पनि आग्रह गरे।

उनले रूपन्देहीको विकास र समृद्धिको खाका आफूहरूसँग भएको जनाउँदै पाँच दलीय गठबन्धनलाई अत्यधिक मतले जिताउन अनुरोध गरे। खाँणले रूपन्देहीमा जनजीविका र राष्ट्रिय महत्वका योजनालाई एकीकृत गरी विकास गर्न जरुरी रहेको बताउँदै यसको नेतृत्व गठबन्धनले गर्ने प्रष्ट समेत पारे।

शुक्रबार शुद्धोधन गाउँपालिकामा आयोजित तरुण प्रक्षिण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खाँणले विकासका योजना नै नभएका, आफ्ना कुरा प्रष्ट राख्न नसक्ने, निर्वाचनपछि सरकारसमेत बनाउन नसक्ने नेतालाई जिताएर समृद्धिको सपना पूरा हुन नसक्ने उल्लेख गरे।

‘सरकार गठबन्धनले बनाउँछ, योजना निर्माणदेखि त्यसलाई मूर्तरूप दिने काम गठबन्धनले गर्छ’, उनले भने, ‘जब केही उम्मेदवारहरूले न सरकार बनाउने ल्याकत राख्छन्, न प्रष्टसँग बोल्न सक्छन्। त्यस्तालाई जनप्रतिनिधि चुन्यौं भने क्षेत्र, जिल्ला र मुलुकको विकास कसरी हुन्छ। उनीहरूप्रति कसरी विश्वास गर्न सकिन्छ?’

उनले जनतामा भिजेका, विकासको झोला बोकेका उम्मेदवारलाई आगामी मंसिर ४ को निर्वाचनमा बिजयी बनाउन समेत आह्वान गरे।
‘रूपन्देहीको विकासले देश भरिका युवाहरूलाई उत्साहित गर्ने छ। नेपाल बनाउने अविभारा हाम्रो काँधमा आएको छ। यसमा युवाहरूको साथ जरुरी छ’, उनले भने।

एमाले, राप्रपा र जसपाबीचको तीन दलीय गठबन्धन कुनै विचार, सिद्धान्तले पनि अग्रगमनको पक्षमा नरहेको आरोप लगाए।

‘एउटा दलले राजा ल्याउने भन्छ, अर्काले गणतन्त्रको वकालत गर्छ, अर्काले अझ फरक धारणा राख्छ’, उनले भने, ‘यस्तो गठबन्धनले कसरी संविधान, गणतन्त्र, संघीयताको रक्षा गर्नसक्छ ? विकास कसरी गर्छ ? त्यसैले यस्तो बेमेलको गठबन्धनबाट हामी सबै सजग हुनुपर्छ।’

२०७४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउँदा सरकार चलाउन नसकेर महत्वपूर्ण समय खेर फालेको र राप्रपा त्यो भन्दा पहिला नै असफल भैसकेको भन्दै उनले मुुलुुकको बर्तमान ब्यबस्थालाई जोगाउँदै अग्रगमन चाहने सबैले पाँच दलीय गठबनधनका उम्मेदवारलाई बिजयी गराउनुुपर्ने बताए।

‘लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेका हुन्। गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सिर्जना गरि नेपाली जनतालाई खुशीयालीमा बदल्न पनि पाँच दलीय गठबन्धन आवश्यक छ’, मन्त्री खाँणले भने, ‘पश्चगामीहरूले जित्नुु भनेको देसको विकास र राजनीति पछाडी फर्कनुु हो।’

कात्तिक १८, २०७९ शुक्रबार १९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।