टी–टवेन्टी विश्वकप : अफगानिस्तानमाथि अस्ट्रेलियाको जित, सेमिफाइनलका लागि श्रीलंकाको भर

टी–टवेन्टी विश्वकप : अफगानिस्तानमाथि अस्ट्रेलियाको जित, सेमिफाइनलका लागि श्रीलंकाको भर

काठमाडौं : अस्ट्रेलियामा जारी आईसीसी टी–ट्वेन्टी विश्वकपमा बिहीबार अफगानिस्तानमाथि ४ रनको जित निकाल्दै घरेलु टोलीले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ।

सुपर १२ अन्तर्गत समूह ‘ए’ को जित्नैपर्ने खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई झिनो रन अन्तरले पराजित गरेको हो।

अष्ट्रेलियाले दिएको १६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ७ विकेट गुमाएर १६४ रन बनायो। उसका लागि रसिद खानले अविजित ४८ रन बनाए। गुल्बादिन नइबले ३९, रहमानुल्लाह गुर्बाजले ३० र इब्राहिम जद्रानले २६ रन जोडे।

अष्ट्रेलिया जोस हेजलउड र एडम जाम्पाले २–२ तथा केन रिचर्डसनले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६८ रन बनायो। उसका लागि ग्लेन म्याक्सवेलले नटआउट ५४ रन बनाउँदा मिचेल मार्सले ४५ तथा डेबिड वार्नर र मार्कस स्टोइनिसनले समान २५ रन जोडे।

अफगानिस्तानका नविद उल्हाकले ३ तथा फजल्लाहक फारुकीले २ विकेट लिए।

समूह १ मा पाँचै खेल खेलेको अष्ट्रेलिया ७ अंक जोडेर दोस्रो स्थानमा छ। ५ खेलबाट ७ अंक नै जोडेको न्यूजिल्याण्ड भने सेमिफाइनल प्रवेश गरिसकेको छ।

अब अष्ट्रेलिया र इंग्ल्याण्डमध्ये एक टिम सेमिफाइनल पुग्नेछ। अष्ट्रेलियाले सेमिफाइनल पुग्न इंग्ल्याण्ड र श्रीलंकाबीच शनिवार हुने खेल कुर्नुपर्नेछ।

अष्ट्रेलियाको सेमिफाइनल पुग्ने आश अब श्रीलंकामाथि छ। श्रीलंका इंग्ल्याण्डसँग पराजित भए घरेलु टोली अष्ट्रेलिया सुपर–१२ बाटै बाहिरिनेछ।

५ खेलबाट २ अंक मात्र जोडेर अफगानिस्तान भने समूहको पूछारमा रहँदै यसअघि नै बाहिरिसकेको छ।

कात्तिक १८, २०७९ शुक्रबार १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।