बचतकर्ताको अर्बौँ रकम जोखिममा परेको भन्दै गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस

बचतकर्ताको अर्बौँ रकम जोखिममा परेको भन्दै गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस

काठमाडौं : बचतकर्ताको अर्बौँ बचत सङ्कटमा पर्न सक्ने भन्दै सहकारी विभागले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषित गर्न सिफारिस गरेको छ। विभागले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको हो।

सहकारीले सदस्यको बचत फिर्ता गर्न नसकेपछि विभागले यस्तो सिफारिस गरेको हो। सहकारीका प्रमुख बचतकर्ताको रकम फिर्ता नगरी एकाएक गायब भएपछि त्यसका बचतकर्ताहरूले विभागमा उजुरी दिएका थिए। मन्त्रालयले सो सहकारीबारे अध्ययन गर्न विभागलाई निर्देशन दिएको थियो।

निर्देशन अनुसार अध्ययन सकेर विभागले मन्त्रालयलाई सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको विभागका एक अधिकारीले जानकारी दिए।

विभागले साउनमा संस्थाको  केन्द्रीय कार्यालय रहेको भवन, जग्गा, टेकुमा रहेको सेवा केन्द्र, पोखरामा रहेको सेवा केन्द्र, नारायणघाटमा रहको सेवा केन्द्र खोल्न, चलाउन तथा सरसामान बिक्री गर्न नपाउने गरी सुरक्षा प्रदान गर्न प्रहरीलाई पत्राचार गरेको थियो।

संस्थाका अध्यक्ष रामबहादुर गौतम हुन्। विभागले गौतम र उनको श्रीमती निर्मला खत्री गौतमसहित सहकारीका १५ जना सञ्चालक र कर्मचारीको बैङ्क खाता रोक्का गर्न राष्ट्र बैङ्कलाई पत्र पठाएको थियो।

कात्तिक १८, २०७९ शुक्रबार १९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।