बुटवल मण्डपमा प्रदर्शनी सचिवालय स्थापना

बुटवल मण्डपमा प्रदर्शनी सचिवालय स्थापना

बुटवल : १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी स्वरुप प्रदर्शनी स्थल बुटवल मण्डपमा प्रदर्शनी सचिवालय स्थापना गरिएको छ।

शुक्रबार बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको संघका अध्यक्ष तथा प्रदर्शनी आयोजना मुल समितिका संयोजक माधव प्रसाद पौडेलले विधिपूर्वक पुजा आजा गरि सुभारम्भ गरेका हुन्।

बुटवल उपमहानगरपालिका–१० बुटवल मण्डपमा बन्दै गरेको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा रुपन्देही उद्योग संघले पहिलो पटक प्रदर्शनी आयोजना गर्न लागेको छ।

प्रदर्शनी आयोजना सफलता पूर्वक सम्पन्न गर्न आवश्यक तयारीका कामहरु द्रुत गतिमा अगाडी बढाउने लक्ष्यसहित मण्डपमा सचिवालय स्थापना गरिएको संघका महासचिव हरिबहादुर खत्रीले बताए। शुक्रबारबाट प्रदर्शनी तथा उद्योग संघको सबै काम सचिवालयबाट हुने उनले जानकारी दिए।

काठमाडौं बाहिर निमार्ण गरिएको पहिलो अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको औद्योगिक प्रदर्शनीमा उपभोक्ता दर्शकहरुले नयाँ स्वाद र व्यवस्थापन हेर्न पाउने संघका अध्यक्ष माधव प्रसाद पौडेलले बताए।

अध्यक्ष पौडेलले आर्थिक गतिविधि खस्दो वर्तमान अवस्थामा प्रदर्शनी आयोजना चुनौतिपूर्ण रहेको बताउदै त्यसलाई आत्मसाथ गर्दै प्रदर्शनीको आयोजनाले उद्योगी, व्यवसायी एवं उपभोक्तामा उत्साहा जगाउने विश्वास व्यक्त गरे। 

‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराका साथ हुन लागेको प्रदर्शनीमा स्वदेशी उत्पादन, प्रविधि र कृषि एवं पर्यटनको विकासका लागि समयको परिवर्तनस“गै परिमार्जित र परिस्कृत स्टलहरू समावेश गरिने संघले जनाएको छ।

प्रदर्शनीमा सहभागिताका लागि स्टल दर्ताको काम सुरु भएको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए। उनका अनुसार प्रदर्शनीमा विभिन्न प्रकृतिका करिव ५ सयसम्म विभिन्न प्रकृतिका स्टलहरुको सहभागिता रहने र शुक्रवारसम्म ५० वटा स्टल दर्ता भएका छन्।

प्रदर्शनी आगामी पुस  देखि १९ गतेसम्म बुटवलमा हुनेछ।

कात्तिक १८, २०७९ शुक्रबार १७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।