गोकर्ण विष्टको दाबी– ‘गुल्मी–२ मा प्रतिस्पर्धी नै छैनन्’

गोकर्ण विष्टको दाबी– ‘गुल्मी–२ मा प्रतिस्पर्धी नै छैनन्’

बुटवल : एमाले सचिव एवं गुल्मी–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गोकर्ण विष्टले आसन्न निर्वाचनमा पनि आफ्नो जित निश्चित रहेको दाबी गरेका छन्।

शुक्रबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता विष्टले यसअघि गुल्मीबाट ३ पटक निर्वाचित भएपछि आफूले कामको मूल्याङ्कन मतदाताले गर्ने भन्दै यस पटकको निर्वाचनमा पनि आफ्नो विजयी सुनिश्चित भएको बताए।

०५६, ०७० र ०७४ सालमा विजयी भए पनि जम्मा ११ वर्ष ७ महिना आफूले काम गर्न पाएको उल्लेख गर्दै उनले त्यस बीचमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत् विस्तार, सिंचाइ, खेलमैदानका क्षेत्रमा उलेख्य काम भएको बताए।

‘०५६ सालमा निर्वाचित भएपछि देशमा द्वन्द्व थियो। त्यो बेला साढे ३ वर्ष मात्र संसद चल्यो। त्यो बेला विकासका काम भन्दा पनि जिउ ज्यान कसरी जोगाउने चिन्ता थियो। त्यसपछि निर्वाचित भएको समयमा भने गुल्मीको मुहार फेरिने गरी विकासको काम गरियो। त्यहि कारणले यस पटक पनि मतदाताले विकासप्रेमी नेता चुन्नेछन्’, उनले भने ।

पूर्वमन्त्री समेत रहेका विष्टले यस पटकको निर्वाचनमा आफ्नो कसैसँग पनि प्रतिस्पर्धा नभएको बताउँदै प्रतिस्पर्धी उम्मेदवार रामकुमारी झाँक्रीलाई पर्यटकका रूपमा गाउँ भित्रिएको भन्दै कटाक्ष गरे।

‘उहाँ पनि सांसद हुनुहुन्थ्यो । अहिले गाउँमा आएर पर्यटक जस्तै घुमेर विकास भएन भन्दै हिँड्नुभएको छ भन्ने सुनेको छु,’ उनले भने, ‘पर्यटक भएपछि धेरै कुरा थाहा नहुनु स्वभाविक हो।’

पाँच वर्षमा गाउँको विकासका लागि १० हजार रूपैयाँ बजेटसम्म ल्याउन नसकेको भन्दै नेता विष्टले एमाले नेतृत्वको सरकारले पारेका क्रमागत योजनालाई आफूले लिएको दाबी गरे। साथै उनले आउने निर्वाचनपछि समाजवादी नाको खुद्रा पसल बन्द हुनेसमेत बताए।

‘नेपाली कांग्रेस र माओवादीको काँधमा चढेर चुनावमा उभिएको एकीकृत समाजवादीको भविश्य चुनावपछि सकिन्छ,’ उनले थपे, ‘यो निर्वाचनले त्यस्ता खुद्रा पसल बन्द गर्ने निश्चित छ।’

विष्टले यसअघि पार्टी छोडेर अन्यत्र लागेकाहरू एमालेमा फर्किने क्रम बढ्दै गएको भन्दै निर्वाचनमा आफ्नो प्रतिस्पर्धी कोही नभएको दाबीसमेत गरे। स्थानीय तहको निर्वाचनमा क्षेत्रभरी नै ५ सय ६७ मत ल्याएको पार्टीसँग आफ्नो कुनै प्रतिस्पर्धा नहुने उनले जिकिर गरे।

कात्तिक १८, २०७९ शुक्रबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।