दिल्ली विश्वकै प्रदूषित शहर, काठमाडौं कति नम्बरमा ?

काठमाडौं : भारतको राजधानी नयाँदिल्ली विश्वको सबैभन्दा प्रदूषित शहर बनेको छ।
हावाको गुणस्तर मापन गर्ने स्विट्जरल्याण्डको आईक्यूएयर डटकमका अनुसार दिल्ली विश्वको सबैभन्दा प्रदूषित शहर बनेको हो।
हरियाणा र पञ्जाब राज्यमा पराला जलाएसँगै भारतको राजधानी नयाँदिल्लीको हावामा प्रदूषण ह्वात्तै बढेको हो।
नेपाली समयअनुसार दिउँसो सवा तीन बजे दिल्लीको हावाको गुणस्तर (एक्यूआई) ३९२ पुगेको छ। जुन एकदमै घातक हो। प्रदूषण बढेसँगै दिल्ली सरकारले त्यहाँको विद्यालय भोलिका लागि बन्द गर्ने निर्णय गरेको छ।
दोस्रो स्थानमा २२७ एक्यूआईसहित पाकिस्तानको लाहोर शहर हुँदा तेस्रो स्थानमा १५४ एक्यूआईसहित भारतको कोलकत्ता रहेको छ। काठमाडौं भने १२८ एक्यूआईसहित दशौं स्थानमा छ।
एक्यूआई ० देखि ५० सम्म हुँदा एकदमै राम्रो हो भने ५१ देखि १०० लाई मध्यम मानिन्छ।
यस्तै, १०१ देखि १५० सम्मलाई संवेदनशील समूहका लागि अस्वस्थ्य, १५१ देखि २०० सम्म सबै समूहका लागि अस्वस्थर २०१ देखि ३०० सम्म एकदमै अस्वस्थ हुन्छ।
यस्तै ३०१ देखि माथि एक्यूआई भएमा त्यसलाई एकदमै खतरनाक मानिन्छ।
कात्तिक १८, २०७९ शुक्रबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।