मतदाता शिक्षाका लागि कैलालीमा नमूना मतदान

कैलाली : मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमूना मतदान गरिएको छ।
कैलाालीको निर्वाचन क्षेत्र नं. ३ को सुख्खड स्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमूना मतदानमा ४२ मत खसेकोमा सबै मत सदर भएको थियो।
प्रदेश निर्वाचन कार्यालय, धनगढीको पहलमा भएको नमूना मतदानमा नगरपालिकाका प्रमुख खडक रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत गाउँघरमा खटिइरहने स्वास्थ्य स्वयम्सेविका, पालिकाका कर्मचारीलगायत सहभागी भएका थिए।
सो अवसरमा नगर प्रमुख रावतले नमूना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत संख्या घट्ने बताए।
निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उदेश्यले नमुना मतदान गरिएको बताए।
यसअघि कैलालीको निर्वाचन क्षेत्र नं. ४ को गोदावरी नगरपालिका क्षेत्रमा पनि नमूना मतदान कार्य सम्पन्न भएको थियो। जिल्लाका अन्य पालिकामा पनि नमूना मतदानको तयारी गरिएको छ।
यसबाहेक यही कात्तिक १८ गतेबाट कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रका वडा र टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न एकसय २६ महिला स्वयम्सेवी परिचालन गर्न लागिएको छ।
स्थानीय पालिकाहरूबाट निर्वाचन सम्बन्धी आवश्यक तालिम लिएका महिला स्वयम्सेवीलाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गर्न लागिएको हो।
निर्वाचन कार्यालयले स्थानीय तहको एकजना अधिकृत तहको कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति (अनुगमन अधिकृत)को रूपमा खटाउन लागेको छ।
कात्तिक १८, २०७९ शुक्रबार १४:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।