आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला: प्रचण्ड

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिरमा हुने निर्वाचनले मुलुकमा अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला गर्ने बताएका छ्न्। गोरखा नगरपालिका–१४ स्थित याङ्कोटमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनमार्फत् पश्चगामी शक्तिलाई पराजित गर्नुपर्ने बताए।
“मुलुकलाई पछाडि फर्काउन चाहने शक्ति गठबन्धन गरेर निर्वाचनमा आएका छन्”, उनले भने, “त्यस्ता गठबन्धनलाई जनताले चिन्नुपर्छ।”
आगामी निर्वाचनमा अग्रगमनको पक्षमा फैसला गर्न पनि उनले अपिल गरे। “अहिलेको निर्वाचन अन्य निर्वाचन जस्तो सामान्य छैन”, उनले भने, “गणतन्त्र र संविधान स्वीकार गर्ने तथा गणतन्त्र र संविधानविरोधीको लडाइँ छिनोफानो गर्ने निर्वाचन हो।”
संविधान निर्माणपछि देश स्थायित्वमा जान्छ भन्ने ठानेर केही गणतन्त्र विरोधीलेले संविधानविरुद्ध गतिविधि गरेपछि वाम–लोकतान्त्रिक गठबन्धन बनेको प्रचण्डको भनाइ थियो।
कात्तिक १८, २०७९ शुक्रबार १३:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।