न्युजिल्याण्ड सेमिफाइनलमा, विलियमसन चम्किँदा जोश लिटलको ह्याट्रिक छायाँमा

न्युजिल्याण्ड सेमिफाइनलमा, विलियमसन चम्किँदा जोश लिटलको ह्याट्रिक छायाँमा

काठमाडौं: समूह चरणको अन्तिम खेलमा आयरल्याण्डलाई ३५ रनले हराउँदै न्युजिल्याण्ड सेमिफाइनलनजिक पुगेको छ। अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकपमा केही बेरअघि सम्पन्न खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई हराएको हो।

न्युजिल्याण्डले अब अष्ट्रेलिया र इङ्ग्ल्याण्डको खेलको नतिजा कुर्न मात्र बाँकी छ। अष्ट्रेलियाले केही बेरमा हुन गइरहेको खेल जिते पनि रनरेट फराकिलो बनाउन सकेन भने ऊ प्रतियोगिताबाट बाहिरिने छ भने न्युजिल्याण्डले सेमिफाइनलको टिकट पाउनेछ। न्युजिल्याण्डको रनरेट +२.११३ छ।

यता आजको न्युजिल्याण्डको विजयले आयरल्याण्डका जोश लिटलको ह्याट्रिकलाई छायाँमा पारेको छ। यस्तै केन विलियमसनले ३५ बलमा प्रहार गरेको ६१ रनले पनि उनको ह्याट्रिकलाई छायाँमा पारिदियो। विलियमसन 'म्यान अफ दि म्याच' पनि भए।

यद्यपि, लिटलले टी ट्वेन्टी विश्वकपको स्पेशल क्लबमा प्रवेश पाएका छन्। उनले आफ्नो अन्तिम ओभरमा लगातार तीन बलमा तीन विकेट लिए। टी ट्वेन्टी विश्वकपमा ह्याट्रिक गर्ने उनी छैटौँ खेलाडी हुन्।

त्यसमा पनि उनले स्टार ब्याट्सम्यान विलियमसन, जिमी निशम र मिचेल स्यान्टनरको विकेट लिएका हुन्। उनले यस प्रतियोगितामा कुल ११ विकेट हात पारे। आजको खेलमा २२ रन दिएर ३ विकेट लिएको उनको बलिङ फिगरले २३ वर्षीय लिटललाई आयरल्याण्डको उदियमान खेलाडीको रूपमा उभ्याएको छ।

कात्तिक १८, २०७९ शुक्रबार १३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।