७० वर्षीया वृद्धाको हत्या आरोपमा एक जना पक्राउ

७० वर्षीया वृद्धाको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं: नेपाल प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ। हिजो राति ११ बजे कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारमा डेरा गरी बस्ने ७० वर्षीया फूलमाया तामाङमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।

सोही घटनामा संलग्न रहेको आरोपमा तत्कालै प्रहरी प्रभाग काँडाघारीबाट प्रहरी निरीक्षकसहित खटेको प्रहरी टोलीले घटनामा प्रयोग भएको धारिलो हतियारसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका -७ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका- ८ मा बसोबास गर्ने वर्ष ३५ को विजय तामाङ भन्ने जयबहादुर तामाङ रहेका छन्। उनको साथबाट एक थान खुकुरी र एक थान चक्कु बरामद भएको छ।

घटनास्थलमा प्रहरी वृत्त बानेश्वरबाट प्रहरी नायव उपरीक्षकसहितको अनुसन्धान अधिकृत संलग्न प्रहरी टोलीले लास जाँच प्रकृति मुचुल्का लगायतको काम गरी लासलाई पोष्ट मोर्टमको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ।

पक्राउ परेका तामाङमाथि मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद-१२ को ‘ज्यान सम्बन्धी कसूर’ मुद्दामा प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भई रहेको छ।

कात्तिक १८, २०७९ शुक्रबार १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।