संविधान, पार्टीभन्दा कैयौँ गुणा ठूलो: मन्त्री मेटमणि चौधरी

संविधान, पार्टीभन्दा कैयौँ गुणा ठूलो: मन्त्री मेटमणि चौधरी

दाङ: शहरी विकासमन्त्री मेटमणि चौधरीले संविधान पार्टीभन्दा कयौँ गुणा ठूलो रहेको धारणा व्यक्त गरेका छन्। सत्ता गठबन्धनले बिहीबार आयोजना गरेको राप्ती गाउँपालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चाधरीले यस्तो बताएका हुन्।

उनले भने, ‘नयाँ संविधान बनाउन कुनै भूमिका नखेलेकाहरूलाई अथवा संविधानै चाहिन्न भन्नेहरूलाई त यी सबै उपलब्धिहरू सामान्य लाग्लान्। तर हिजो हाम्रा अग्रजहरू, शहिदहरू र स्वयम् हामी सहभागी भएर लडेर ल्याएको यो व्यवस्था, यो संविधान चानचुने संघर्षबाट प्राप्त भएको होइन।’

नयाँ संविधानले समाजका सबैखाले वर्ग, तह र तप्काका जनताका मुद्दा सम्बोधन गरेको बताउँदै मन्त्री चौधरीले तत्कालीन प्रधानमन्त्री केपी ओलीले जनमतको अपमान गरेको पनि बताए। 

‘एक जना सन्की, एक जना मुर्ख शासकको हातमा मुलुक पुग्दा सबै बर्बाद भयो। साराका सारा उपलब्धिहरू गुम्ने खतरा पैदा भयो। र एक जना जननिर्वाचित सांसद हुनुको नाताले हामीले संविधान पार्टीभन्दा कैयौँ गुणा ठूलो कुरा हो भन्ने महसुस गर्याैँँ। त्यसैकारण जोखिम मोल्न हामीहरू तयार भयौँ’, मन्त्री चौधरीको भनाई थियो।

कात्तिक १८, २०७९ शुक्रबार १०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।