प्रधानमन्त्री देउवा कात्तिक २२ सम्म डडेल्धुरामै हुने, आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री देउवा कात्तिक २२ सम्म डडेल्धुरामै हुने, आज दुई चुनावी सभालाई सम्बोधन गर्ने
फाइल तस्बिर

काठमाडौं: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावी सभालाई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा छन्। उनले जिल्ला सदरमुकामको चुनावी आमसभालाई बिहीबार सम्बोधन गरिसकेका छन्।

प्रधानमन्त्री देउवा यही कात्तिक २२ गतेसम्म जिल्लामा रहने छन्। यसबीच उनले सात वटा चुनावी सभामा सहभागी हुने छन्।

यसक्रममा देउवाले गठबन्धनका साथै कांग्रेस नेता तथा कार्यकर्तासित भेटघाट गर्ने छन्। देउवासँगै कांग्रेस केन्द्रीय सदस्य एवं उनकी धर्मपत्नी डा. आरजु देउवा, केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी केन्द्रका तर्फबाट प्रदेश सभा (क) का उम्मेदवार खगराज भट्ट, प्रदेश सभा (ख) का उम्मेदवार एवं सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री गोविन्दराज बोहरा, एकीकृत समाजवादीकी नेतृ निरा जैरु, जनमोर्चाका नेता नन्दराज भट्टलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त वाम–लोकतान्त्रिक गठवन्धनका चुनावी संयोजक भीमबहादुर साउदले जानकारी दिए।

कांग्रेस डडेल्धुराका सभापति समेत रहेका साउदका अनुसार देउवाले आज बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, कात्तिक १९ गते अजयमेरु गाउँपालिकाको भद्रपुर र भागेश्वर गाउँपालिकाको रुपाल तथा कात्तिक २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन्।

कात्तिक १८, २०७९ शुक्रबार १०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।