आज तुलसीको विवाह गरेर हरिबोधिनी एकादशी मनाइँदै

काठमाडाैंः आज हरिबाेधिनी एकादशी रहेको छ। प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यस दिनलाई तुलसी विवाह पनि भनिन्छ।
तुलसीकाे पूजाआजा गर्दै आजका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गर्ने चलन छ। आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर खाने गरिन्छ।
आज हरिबाेधिनी एकादशीका अवसरमा काठमाडाैंको बूढानीलकण्ठलगायत विभिन्न विष्णुको मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ।
प्रत्येक १५ दिनमा पर्ने एकादशीमध्ये आषाढ शुक्लपक्षको हरिशयनी एकादशी र कार्तिक शुक्लपक्षको हरिबोधिनी एकादशी अरूभन्दा अझ विशेष महत्त्वपूर्ण मानिन्छन्। नेपाली समाजमा यी दुई एकादशीलाई ठूली एकादशी भनिन्छ र श्रद्धाभक्तिपूर्वक व्रत उपवास गरिन्छ।
वर्षभरिका २४ र अधिकमास परेका वर्ष पर्ने २६ एकादशीमध्ये हरिबोधिनी एकादशीको विशेष महत्त्व छ। यो एकादशीमध्येको अन्तिम एकादशी हो। मंसिर कृष्णपक्षको उत्पत्तिका एकादशीबाट सुरु भएको वार्षिक एकादशी–चक्र हरिबोधिनीमा आउँदा पूरा हुन्छ। यसपछि एकादशीको अर्को वार्षिक चक्र सुरु हुन्छ।
कात्तिक १८, २०७९ शुक्रबार ०७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।