विश्वकपमा आज अष्ट्रेलियाले अफगानिस्तानको सामना गर्ने, सेमिफाइनल पुग्न जित अनिवार्य तर अपर्याप्त

काठमाडौं: टी ट्वेन्टी विश्वकपमा आयोजक राष्ट्र अष्ट्रेलियाले आज अफगानिस्तानको सामना गर्दैछ। नेपाली समयअनुसार दिउँसो १:४५ मा खेल सुरु हुनेछ।
अघिल्लो संस्करणको विश्वकप विजेता टोली अष्ट्रेलियाले सेमिफाइनलमा पुग्न आजको खेल जित्नैपर्नेछ। हाल अष्ट्रेलिया अंक तालिकामा समूह १ को तेस्रो स्थानमा छ। पहिलो स्थानमा न्युजिल्याण्ड र दोस्रोमा इङ्ग्ल्याण्ड छन्। यी तीन वटै टोलीको समान ५-५ अंक छ।
त्यसैले अष्ट्रेलियाका लागि आजको खेल जित्नु अनिवार्य छ। त्यो पनि फराकिलो अन्तरले। तर सेमिफाइनल यात्रा जितले मात्र अपर्याप्त छ।
इङ्ग्ल्याण्ड र न्युजिल्याण्डको प्रदर्शनमा अष्ट्रेलियाको सेमिफाइनल यात्रा तय हुनेछ।
यस्तै आज न्युजिल्याण्ड र आयरल्याण्ड पनि भिड्दैछन्। नेपाली समयअनुसार बिहान ९:४५ बाट यो खेल सुरु हुनेछ।
आयरल्याण्डले इङ्ग्ल्याण्डलाई हराएर स्तब्ध बनाएको हुँदा आजको खेल न्युजिल्याण्डले सम्हालिएर खेल्नुपर्नेछ। न्युजिल्याण्डलाई पनि जित मात्र नभएर फराकिलो जित आवश्यक छ।
अष्ट्रेलिया, न्युजिल्याण्ड र इङ्ग्ल्याण्डबीच सेमिफाइनलमा कुन दुई टोली जान्छ भन्ने टुङ्गो शनिबार हुने इङ्ग्ल्याण्ड र श्रीलङ्काबीचको खेलले टुङ्गो लगाउनेछ।
कात्तिक १८, २०७९ शुक्रबार ०७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।