चार प्रदेशमा मतपत्र ढुवानी सकियाे

चार प्रदेशमा मतपत्र ढुवानी  सकियाे

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी गरिएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी गरिसकिएको हो। बिहीबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सकिएको आयोगले जनाएको छ।

शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रदेश नं. १ को मतपत्र ढुवानी सुरु हुनेछ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी भइसकेको छ।

यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्नेछ। जसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी छ।

शुक्रबारसम्म सबै मतपत्र छपाइ सम्पन्न हुनेछन् भने कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्रसमेत पुग्नेछ।

कात्तिक १७, २०७९ बिहीबार १७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।