विश्वकपमा आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै, सेमिफाइनलमा कसको सम्भावना ?

काठमाडौं: अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकपमा आज दुई बलिया टोली पाकिस्तान र दक्षिण अफ्रिका भिड्दैछन्। खेल नेपाली समयअनुसार १:४५ मा सुरु हुनेछ।
समूह २ मा हाल चार खेलमा तीन जित र एक हारसहित भारत शीर्ष स्थानमा छ। सेमिफाइनल पुग्नलाई भारत अब केवल एक खेलको नतिजाको पर्खाइमा छ।
यता आजको खेल दुवै टोलीलाई महत्त्वपूर्ण रहेको छ। दक्षिण अफ्रिकाले आजको खेल जितेमा ऊ सिधै सेमिफाइनल पुग्नेछ। र पाकिस्तान सिधै प्रतियोगिताबाट बाहिर हुनेछ।
पाकिस्तानले आजको खेल जितेमा भने उसले आफ्नो सेमिफाइनल यात्रामा तत्काल ब्रेक लगाउनुपर्ने छैन। तर अरू टोलीको नतिजामा ऊ निर्भर हुनेछ। यसको लागि जिम्बावेले भारतलाई हराउनु पर्ने छ भने दक्षिण अफ्रिका आफ्नो अन्तिम खेलमा नेदरल्याण्ड्ससँग पराजित हुनुपर्ने छ र नेट रनरेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई उछिन्नुपर्ने छ।
यद्यपि पाकिस्तानको सेमिफाइनल यात्रा भने करिब करिब असम्भव नै छ।
यो विश्वकपमा सबैभन्दा बढी फर्ममा रहेको टोली दक्षिण अफ्रिकालाई हराउनु सबैभन्दा 'आउट अफ फर्म' टोली पाकिस्तानको लागि फलामको चिउरा चपाउनु सरह छ। पाकिस्तानी टोली बलिङमा मात्र खरो रूपमा उत्रिँदा दक्षिण अफ्रिकी टोली बलिङ, ब्याटिङ र फिल्डिङ तीन वटै पक्षमा बलियो देखिएको छ।
कात्तिक १७, २०७९ बिहीबार ०७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।