महिलाको समस्या हेर्न काठमाडौं महानगरका सबै वडामा महिला सञ्जाल

काठमाडौं : काठमाडौं महानगरपालिकाले बुधबार वडा स्तरीय महिला सञ्जाल गठन गरेको छ। लैङ्गिक विषयसँग सम्बन्धित समस्या वडास्तरमै समाधान गर्न वडा स्तरीय महिला सञ्जाल गठन गरेको महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बताएकी छिन्।
उनका अनुसार न्याय वितरण प्रणालीलाई वडा स्तरमा छिटो, सरल र सहज बनाउने संस्थागत संयन्त्र निर्माण गरिएको हो।
‘महिला सञ्जाल निर्माणले महिलालाई नेतृत्वदायी ठाउँमा लगेको छ,’ उनले भनिन्, ‘यसअघि महिला सदस्यहरूले काम गर्न पाएनौं भन्ने गुनासो गर्नुभएको थियो। त्यो गुनासोलाई सञ्जाल गठनले सम्बोधन गरेको छ।
यस्तै, काठमाडौं महानगरपालिका मेयर बालेन शाहले सञ्जालको भूमिका ठूलो भएता पनि जघन्य अपराधलाई मेलमिलाप गराउने वा त्यही समाधान गर्न खोज्न नहुने बताएका छन्।
‘प्रहरीको तथ्याङ्क हेर्दा काठमाडौंमा महिला हिंसाका उजुरी धेरै देखिन्छन्,’ उनले भने, ‘हिंसा सहनु हुन्न भन्ने सचेतना भएका कारण उजुरी गर्नेको संख्या धेरै हुन सक्छ। यस्ता समस्या वडा स्तरमै समाधान गर्न सके प्रहरीमा दर्ता हुने उजुरीको संख्यामा कमी आउनेछ।’
यस सञ्जाललाई ७ दिनभित्र पूर्णता दिइने डंगोलले बताएकी छिन् भने शोषण, हिंसा, दमन भेदभाव तथा अन्य कारणले अन्यायमा परेका महानगरमा बस्ने महिलाहरुमा छिटो न्यायको पहुँच पुर्याउन महिला सञ्जाल गठन गरिएको पनि उनले बताएकी छिन्।
कात्तिक १६, २०७९ बुधबार २२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।