प्रचण्ड र माधव नेपालले निर्वाचन आयोगको स्पष्टीकरण पाउँदा देउवा र ओली जोगिए

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनकोक्रममा निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै ७१ जनालाई स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण पत्र पाउनेमा २ जना शीर्ष दलका अध्यक्ष नै छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आचार संहिता उलङ्घन गरेको भन्दै आयोगको पत्र पाए।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने अहिलेसम्म संहिता उलङ्घनको पत्र पाएका छैनन्। तर उनीहरूको अभिव्यक्ति र गतिविधि भने संहिता अनुकूल देखिँदैन। प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्र भन्दा बाहिर प्रचार गर्न नपाउने भने पनि देउवा कार्यकर्ता भेला भन्दै विभिन्न जिल्लामा उम्मेदवारको प्रचारमा सक्रिय छन्।
निःशुल्क वैदेशिक रोजगारमा जान पाउने भनेर दिएको अभिव्यक्तिलाई आयोगले निर्वाचन संहिता उलङ्घनको कारण देखाउँदै माधव नेपाललाई आयोगले पत्र पठायो तर आफ्नो सरकार आए वृद्ध भत्ता पाँच हजार पुर्याउने भन्दै मतदातालाई प्रलोभन दिएकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधेन।
आयोगको पत्र पाउनेमा कांग्रेसका धेरै
स्पष्टीकरण पत्र पाउनेमा माओवादी, कांग्रेस र एकीकृत समाजवादीका बढी नेताहरू देखिन्छन्। रौतहट क्षेत्र नं. १ का उम्मेदवार एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समाजवादी पार्टीका एक्ला स्पष्टीकरण पाउने उम्मेदवार हुन्। सो पार्टीका अन्य उम्मेदवारमाथि संहिता उलङ्घनको आरोप लागेको छैन।
कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई आयोगले स्पष्टीकरण सोधिसकेको छ। शर्माले डेंगु विरुद्धको अभियान सुरु गरेको भन्दै २ पटक स्पष्टीकरण सोधिसक्यो भने शर्माले आगलागी पीडितलाई पैसा दिएको भन्दै स्पष्टीकरण सोधेको थियो।
कांग्रेस उम्मेदवार अर्जुनप्रसाद जोशी, खानेपानी मन्त्री एवं प्रतिनिधिसभा सदस्यका बारा क्षेत्र नं. १ का कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले समेत आयोगको पत्र पाइसके।
भक्तपुर सभापति तथा क्षेत्र नम्बर २ का उम्मेदवार दुर्लभ थापा, कांग्रेस, सुदूरपश्चिम प्रदेशका सभापति एवं कैलाली क्षेत्र नं. ४ का प्रतिनिधिसभाका सदस्य वीरबहादुर बलायरलाई समेत संहिता उलङ्घन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो।
एमालेमा योगेश र जुली अगाडि
एमालेका उम्मेदवार जुली कुमारी महतो, सूर्य बहादुर थापा क्षेत्री, भगवती चौधरी, बझाङका एमाले उम्मेदवार ऐनबहादुर महर, योगेश भट्टराईलाई आयोगले स्पष्टीकरण सोध्यो।
भक्तपुरका उम्मेदवार महेश बस्नेतलाई पनि प्रचारमा तोकिएको भन्दा धेरैलाई सहभागी गराएको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो।
गठबन्धनका उम्मेदवारहरूले जिते स्थानीय तहसम्म अमेरिकी सेना आउने भन्दै भ्रमपूर्ण अभिव्यक्ति दिएको भिडियो नै सार्वजनिक हुँदा पनि आयोगले एमाले उम्मेदवार ठाकुर गैरेलाई स्पष्टीकरण सोधेको देखिएन।
माओवादीका अध्यक्षलाई नै स्पष्टीकरण
प्रचारमा पञ्चेबाजाको प्रयोग गरेको भन्दै माओवादी अध्यक्ष प्रचण्डलाई आयोगले स्पष्टीकरण सोध्यो। स्थानीय तहको निर्वाचनमा पनि प्रचण्डलाई आयोगले स्पष्टीकरण सोधेको थियो।
लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्य, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री एवं कैलालीको प्रदेशसभा क्षेत्र नं. ४ (क) का उम्मेदवार दीर्घ बहादुर सोडारीलाई आयोगले स्पष्टीकरण सोधेको थियो।
कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रकी उम्मेदवार विना मगरले पनि आयोगको स्पष्टीकरण पत्र पाइसकिन्। उनलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको भन्दै आयोगले पत्र पठाएको हो।
स्वतन्त्र पनि कम छैनन्
काठमाडौ क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमलाई स्पष्टीकरण सोधेको थियो। नयाँबानेश्वर क्षेत्रमा चुनाव प्रचारप्रसार गर्नेक्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अङ्कित टिसर्ट लगाएमा पत्र पठाएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं. ६ का उम्मेदवार शिशिर खनालले आफूलाई घण्टी निर्वाचन चिन्हबाट स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेको भन्दै स्पष्टीकरण सोधेको थियो।
मङ्सिर ४ को निर्वाचनमा सहभागी हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेको भन्दै काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मधुसूदन पाठक, प्रतिनिधिसभा सदस्यका सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशङ्कर यादव, प्रदेश सभाका सिराहा क्षेत्र नं. २ (क) का उम्मेदवार राजलाल यादव, प्रदेश सभाका सिराहा क्षेत्र नं. २ (ख)का उम्मेदवार यागेशकुमार सिंहलाई पत्र पठाएको थियो।
काठमाडौँ क्षेत्र नं २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका सर्लाही क्षेत्र नं. २ का उम्मेदवार वीरवंश बैठा, सुनसरी क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्य उम्मेदवार विजय कालिकोटे, प्रतिनिधिसभा सदस्यका रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार प्रख्यात बन्जाडे र नुवाकोट क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार दीपेश ढुङ्गानालाई स्षप्टिकरण सोधेको थियो।
हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई समेत आयोगले स्पष्टीकरण सोधेको थियो।
आयुक्तलाई ठिस भन्दा पत्र
एक दिनको निर्वाचन प्रचारमा रक्सीमा मात्रै १५ लाख खर्च हुने भन्दै उम्मेदवारले जम्मा ३० लाख मात्र खर्च गर्न पाउने निर्णय गर्ने निर्वाचन आयुक्त ठिस हो भन्दा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं मनाङ ‘ख’ का प्रदेश सभा सदस्य उम्मेदवार राजीव गुरुङ उर्फ दीपक मनाङेलाई आयोगले स्पष्टीकरण सोधेको थियो।
उनले एक अन्तर्वार्तामा उम्मेदवारी मनोनयनमै रक्सीमा १५ लाख खर्च भएको दाबी गरेका थिए। आयोगले यदि खर्च भएको हो भने रक्सीको बिल पेस गर्न समेत भनेको थियो।
सरकारी कर्मचारीलाई पनि स्पष्टीकरण
कुनै दलमा आबद्ध नभएकाहरूलाई पनि निर्वाचन संहिता उलङ्घन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ। यस्तो स्पष्टीकरण पत्र पाउनेमाथि सार्वजनिक र सरकारी पदमा रहेर दलको उम्मेदवारको प्रचार गरेको आरोप लागेको छ।
आयोगको ई बुलेटिनमा उल्लेख भए अनुसार नवलपरासीको सरस्वती माविका शिक्षक कृष्ण तिवारी, पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयका प्रधानाध्यापक, पर्वतकै नारायणी माविका शिक्षक सुभन्तराज सुवेदी, पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यलाई समेत स्पष्टीकरण सोधेको छ।
यसैगरी, कुस्मा नगरपालिका वडा नं. ९ का अध्यक्ष राम शर्मा लामिछाने, भूमि आयोगका पर्वतका अध्यक्ष उदय सुवेदी, त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थान, पर्वतको श्री वाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारी, प्रधानाध्यापक अनन्तलाल भण्डारी, शाखा अधिकृत मनोजकुमार यादव, शिक्षक चिरञ्जीवी अधिकारी, इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनी, पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक डा. प्रदीप पराजुलीलाई स्पष्टीकरण सोधियो।
अछामको राष्ट्रिय माध्यमिक विद्यालय, साँफेबगरका प्रधानाध्यापक तिलक कुँवर, काठमाडौँ महानगरपालिकाका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजाल, हरिपूर्वा नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतलाई पनि स्पष्टीकरण सोधेको थियो।
कात्तिक १६, २०७९ बुधबार १९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।