युट्युवरमाथि निर्वाचन आयोगको निगरानी, भोजराज थापाको अनलाइनलाई कारबाही गर्न काउन्सिललाई आयोगको पत्र

युट्युवरमाथि निर्वाचन आयोगको निगरानी, भोजराज थापाको अनलाइनलाई कारबाही गर्न काउन्सिललाई आयोगको पत्र

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन संहिता उलङ्घन गरेको र चरित्र हत्या गरेको भन्दै युट्युवरसहित फेसबुक पेज सञ्चालक र एफएमलाई कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको छ।

आयोगले बुधवारसम्म चार वटा फेसबुक पेज, युट्युब केन्द्रित भिडियो राख्न भोजराज थापाले चलाएको अनलाइन र एक एफएमलाई कारबाही गर्न पत्र पठाएको हो।

नो नट अगेनको नाममा रहेका तीन वटा फेसबुक पेज बन्द गर्न र नगरे कारबाही गर्ने चेतावनी दिने आयोगको कामको निकै आलोचना भयो।

पछि आयोग पछि नै हट्यो यो विषयमा। उसले पहिचान नखुलाई उम्मेदवारविरुद्ध लाञ्छना लगाउने काम नगर्न चेतावनी दियो पछि तर नो नट अगेनको नाम नलेखी।

उसले अर्को एक फेसबुक पेजविरुद्ध कारबाहीको प्रक्रिया अगाडि बढायो तर नेपाल प्रेस काउन्सिलमार्फत। 

आयोगले पौरखी नेपाल तथा मेरो नेपाल नामक फेसबुक पेजबाट व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गरिएको र सुन्दरी युवती भन्दै भ्रामक श्रव्यदृष्य सामग्री सम्प्रेषण गरिएको विषयमा आवश्यक कारबाही गर्न भनेर काउन्सिलमा पत्र पठाएको थियो।

रञ्जिता सिलवाल (चितवन) का बारेमा चरित्रहत्या भएको भन्दै मेचीकाली खबर नामक अनलाइनबाट सामग्री प्रकाशन भएको भन्दै काउन्सिलमा आयोगले पत्र पठाएको थियो। सो सामाग्री कसरी निर्वाचन संहितासँग जोडियो भन्ने भने खुल्दैन। 

सो अनलाइन यूट्युवर भोजराज थापाको हो। कसको श्रीमती कसले भगायो भन्ने सामाग्री युट्युबमा राखेर चर्चामा आएका उनले सो साइटमा युट्युबकै भिडियो राख्ने गरेका छन्। उनी यस अगाडि चितवनमै स्थानीयबाट लखेटिएका थिए।

अधिकांश सामाग्री परिवारको व्यक्तिगत विषयका रहे पनि सो अनलाइन सूचना विभागमा दर्ता भने गरिएको छ। त्यसको दर्ता नम्बर ३०८१(२०७८र७९ रहेको छ।

अनलाइनमा राखिएको विवरण अनुसार त्यसका अध्यक्ष र प्रधान सम्पादक थापा आफैँ हुन्। समाचार प्रमुखमा मधु थापा क्षेत्रीको नाम छ भने एक जना मात्र संवाददाताको नाममा अमृता केसी छ।

आयोगले जय पृथ्वी एफएम बझाङलाई प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गर्न प्रेस काउन्सिललाई पत्र पठाएको देखिन्छ। 

निर्वाचन आचारसंहिता, २०७९ को दफा २५, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण उलङ्घन गरेको भन्दै सो एफएमलाई कारबाही गर्न उसले पत्र पठाएको हो।

काउन्सिलले निर्वाचन संहिता विपरीत कार्टुन बनाएको भन्दै नागरिक दैनिकलाई २४ घन्टे स्पष्टीकरण सोधेकोमा उसको तीव्र आलोचना भइरहेको छ। 

कात्तिक १६, २०७९ बुधबार १८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।