सन्दीप लामिछानेको मुद्दा इजलासमा हेर्दाहेर्दैमा

सन्दीप लामिछानेको मुद्दा  इजलासमा हेर्दाहेर्दैमा

काठमाडौं : १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा हेर्दाहेर्दैमा राखिएको छ। उनको बुधबारदेखि इजलासमा थुनछेक बहस सुरू भएको हो।

मंगलबार बयान सकिएसँगै आज थुनछेक बहस सुरू भएको छ।  नौ जना वकिलले बहस गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन्।  

पीडितको पक्षमा चार जना सरकारी वकिल, तीन जना वकिल र प्रतिवादीको तर्फबाट दुई जना वकिलले बहस गरेका छन्। सन्दीपको पक्षबाट अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले बहस गरेका छन्। थुनछेक बहस भोलि पनि जारी रहनेछ।

सन्दीपविरूद्ध  १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो। जसमा २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो।

सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो। प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो। तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन।

सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।

उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। प्रहरीले पीडितलाई क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ। क्षतिपूर्ति दिलाउन प्रहरीले सन्दीपको सम्पत्ति समेत छानविन गरी अभियोग पत्रमा उल्लेख गरेको छ। 

सन्दीप लामिछानेले सरकारी वकिल कार्यालय र प्रहरीलाई बलात्कारको इन्कारी बयान दिएका छन्। उनले भदौ ५ गते राति काठमाडौंको होटलमा पुगेर एउटै कोठामा बसेको स्विकारेका छन्। तर उनले पीडित युवती बेडमा सुतेको र आफू कुर्सीमै सुतेको बयान दिएका छन्। 

कात्तिक १६, २०७९ बुधबार १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।