निर्वाचन संहिता उलङ्घन गरे ठाउँकाठाउँ कारबाही गर्ने अधिकार स्थानीय तहलाई

निर्वाचन संहिता उलङ्घन गरे ठाउँकाठाउँ कारबाही गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौँ :  प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारहरूले आचारसंहिता उलङ्घन गरे ठाउँकाठाउँ कारबाही गर्ने अधिकार स्थानीय तहले पाएको छ। निर्वाचन आयोगले स्थानीय तहलाई कारबाहीको अधिकार दिएको हो।

बुधवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले' उम्मेदवार तथा दलले निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्दा आयोगद्वारा जारी आचारसंहिता उल्लङ्घन गरे उनीहरूलाई सोही स्थानमा कारबाही गर्न स्थानीय तहलाई अनुमति दिइए' जानकारी दिए।

आचारसंहिता उल्लङ्घन गर्नेलाई दण्ड‚ जरिवानाको निर्णय गर्ने अधिकार भने आयोग आफैँले राखेको छ।

थपलियाले कार्यक्रममा सार्वजनिक पद धारण गरेका व्यक्ति निर्वाचन प्रचारप्रसारमा जान पाउने तर जानु अगाडि आयोगको अनुमति लिनुपर्ने बताए।

कात्तिक १७ गतेदेखि दोस्रो चरणको चुनावी प्रचारप्रसारको कार्यक्रम सुरु गर्न पाइन्छ। त्यसमा सहभागी हुन चाहने सार्वजनिक पदमा आसीन व्यक्तिले आयोगको पूर्व अनुमति लिनुपर्ने उनले बताए।

प्रचारमा जाँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने र यस्तो खर्च उम्मेदवार वा सम्बन्धित पार्टीले खर्च गर्नुपर्ने आयोगले जानकारी दिएको छ।

‘नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले आयोगको सहमतिमा निर्वाचन प्रचारप्रसारमा सहभागी हुन पाउने व्यवस्था छ। सार्वजनिक पद धारण गरेका माननीय प्रधानमन्त्री‚ मन्त्री र प्रदेशमन्त्रीज्यूहरूले अनुमति लिएर जान सक्नुहुन्छ,' थपलियाले पत्रकार सम्मेलनमा भने' तर त्यसरी जाँदा सरकारी स्रोतसाधनको प्रयोग गर्न हुँदैन।’ 

कात्तिक १६, २०७९ बुधबार १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।