डडेलधुरा जान देउवालाई निर्वाचन आयोगको २ सर्त

काठमाडौं : निर्वाचन आयोगले सरकारी स्रोत र साधन प्रयोग नगरी व्यक्तिगत खर्चमा डडेलधुरा जान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अनुमति दिएको छ।
देउवाले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव प्रचारमा जान आयोगसँग अनुमति मागेका थिए। आयोग स्रोतका अनुसार देउवाले अनुमति त पाएका छन् तर सर्तसहित। सर्तमा सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने, व्यक्तिगत वा पार्टीको खर्चमा जान पाउने उल्लेख छ।
यस अगाडि प्रधानमन्त्रीको कार्यालयबाट पत्राचार भएकोमा आयोगले अस्वीकार गरेको थियो। पछि देउवाले उम्मेदवारको हैसियतमा अनुमति मागेका थिए।
निर्वाचन संहितामा प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर प्रचार-प्रसार गर्न नपाइने उल्लेख छ। तर प्रधानमन्त्री देउवा कार्यकर्ता भेलाको नाममा चुनावी कार्यक्रमहरूमा सहभागी भइरहेका छन्।
काठमाडौं बाहिरको कार्यक्रममा सहभागीहुँदा सेनाको हवाई जहाज समेत प्रयोग भएपछि आयोगले सेनाको हवाई साधन व्यक्तिगत रूपमा प्रयोग भएको हो या सरकारीतहबाट भनेर जानकारी मागेको थियो।
कात्तिक १६, २०७९ बुधबार १६:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।