बागलुङमा बिरासत जोगाउने कसरतमा केसी र पौडेल, एमालेसँगको मतान्तर ५ हजार र १५ हजार

बागलुङ : निर्वाचनको मिति नजिकिएसँगै बागलुङमा चुनावी सरगर्मी तीव्र रूपमा बढेको छ।
केन्द्रीय राजनीतिको शीर्ष तहमा रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादु केसी, माओवादी केन्द्रका देवेन्द्र पौडेलले, दीनानाथ शर्मा लगायतको गृहजिल्ला भएकाले पनि चुनावी सरगर्मी बाक्लिएको हो।
लामो समयदेखि राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने जनमोर्चाका अध्यक्ष केसी र माओवादी केन्द्रका पौडेलले स्वयं उमेदवारी दिएकाले बागलुङ चर्चाको केन्द्रमा छ।
प्रतिनिधि सभाको दुई क्षेत्र रहेको बागलुङमा सत्ता गठबन्धनको तर्फबाट क्षेत्र नं १ मा केसी र क्षेत्र नं २ मा बहालवाला शिक्षा मन्त्री पौडेलले उम्मेदवारी दिएका छन्।
चर्चा सुरू गराैं क्षेत्र नं. १ बाट
साढे दुई दशकदेखि नियमित रूपमा चुनाव जित्दै आएका केसीले २०७४ मा माइक्रोबसबाट लडेर घाइते भएपछि चुनाव लड्न पाएका थिएनन्। अहिले फेरि उनले उम्मेदवारी दिएका छन्।
बागलुङमा राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनको भागमा एक सिट प्रत्यक्षतर्फ पाएको छ। केसीलाई सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थन छ।
आगामी मंसिर ४ मा सम्पन्न हुने निर्वाचनमा बागलुङ–१ बाट गठबन्धनका तर्फबाट केसी र एमालेका डा. सूर्यप्रसाद पाठकबीच प्रतिस्पर्धा हुनेछ । ८१ वर्षीय केसीले यसअघि २०५६, २०६४ र २०७० सालमा बागलुङबाट चुनाव जितेका थिए।
२०७२ सालमा संविधान जारी भएपछि गठित सरकारमा उपप्रधानमन्त्री एवं कृषि तथा सहकारीमन्त्री बनेका उनी शक्तिमा पुगे पनिसमकालीन नेताहरूमध्ये सादगी, निष्ठावान र संघीयताको चर्को विरोध गर्ने नेताका रूपमा परिचित छन्।
केसी २०३४ सालमा नेकपा मसालको पोलिटब्यूरो सदस्य बनेका थिए। त्यसैगरी उनले २०४४ सालमा भारतको गोरखपुरमा पञ्चायतविरुद्धको संघर्ष गर्न अखिल नेपाल राष्ट्रिय जनमोर्चा गठन गरेका थिए। उनै केसी यसपटक बाग्लुङ– १ मा आफ्नो पुरानो विरासत फर्काउने दाउमा छन्।
केसीसँग प्रतिस्पर्धाका लागि एमालले केन्द्रीय सदस्यसमेत रहेका डा.सूर्यप्रसाद पाठकलाई उमेदवार बनाएको छ। २०७४ को निर्वाचनमा बागलुङ–१ बाट बाम गठबन्धनका तर्फबाट उमेदवार बनेका पाठकले ३३ हजार ६५७ मत पाएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसकी चम्पादेवी खड्काले २० हजार ६१६ मत प्राप्त गरेकी थिइन्।
पाठक २०७० को निर्वाचनमा साविकको क्षेत्र नम्बर दुईमा भने पराजित भएका थिए। एमालेको जिल्लास्तरमा विभिन्न जिम्मेवारी निर्वाह गरेर पार्टी राजनीतिमा सक्रिय पाठन तेस्रो पटक बागलुङबाट निर्वाचन लड्दैछन्। वाम गठबन्धनको बलमा २०७४को निर्वाचनमा ठूलो मतान्तरले निर्वाचन जितेका पाकठलाई यस पटकको निर्वाचन जित्न पहिले जस्तो सहज छैन।
यस क्षेत्रमा गत स्थानीय तहमा वडा अध्यक्षहरूले पाएको मतलाई जोड्दा गठबन्धनका उम्मेदवार बलियो देखिन्छन्। यस क्षेत्रबाट स्थानीय निर्वाचनमा गठबन्धनको पक्षमा २९ हजार ४६५ मत आउँदा एमालेले २३ हजार ८६८ मत मात्रै पाएको छ। स्थानीय तहको मत अनुसार एमालेभन्दा गठबन्धन ५ हजार ५९७ मतले अघि देखिएको छ।
यस पटकको निर्वाचनमा राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव भएका हेबिवएट उमेदवार केसी स्वयं निर्वाचन लडेकाले उनका पक्षमा राम्रो मत आउने जनमोर्चाका नेताहरूको ठम्याइ छ।
राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव भएर आधा दशकभन्दा बढि सांसद निर्वाचित हुँदासमेत जिल्लाको भौतिक विकासमा चासो नदिएको र उमेरका हिसाबले पनि वृद्ध भएकाले मतदाताले पाठकलाई नै विजयी गराउने एमालेको दाबी छ।
क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फ केसी र पाठकबाहेक राप्रपाका लक्ष्मी प्रसाद सापकोटा, कांग्रेस वीपीका शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल पनि चुनावी मैदानमा छन्। यस्तै स्वतन्त्र चन्द्र बहादुर क्षेत्रीले पनि उम्मेदवारी दिएका छन्।
अब लागाैं क्षेत्र नं. २ तर्फ
त्यसैगरी बागलुङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट माओवादीका देवेन्द्र पौडेल र एमालेकी मञ्जु शर्मा चालिसेबीच प्रतिस्पर्धा हुँदैछ। यस क्षेत्रमा वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेल र चालिसेबीच पहिलो पटक चुनावी प्रतिस्पर्धा हुने भएको हो।
२०७४को निर्वाचनमा वाम गठबन्धनबाट विजयी भएका पौडेल यसपटक सत्तारुढ गठबन्धनका बलमा चुनाव जित्ने तयारीमा छन्। मन्त्री हुँदा आफूले गरेका कामका आधारमा जनताले यस पकट आफैँलाई मतदान गर्ने दाबी गर्छन्।
२०७४मा एमाले र जनमोर्चाको सहयोगमा कांग्रेसलाई पराजित गरेका पौडेल अहिले एमालेकी चालिसेलाई पराजित गर्ने दौडमा छन्। पौडेल माओवादीका स्थायी कमिटी सदस्य हुन्।
१० वर्षे सशस्त्र युद्धमा भूमिगत भएका पौडेल अखिल क्रान्तिकारीमा आबद्ध भएर राजनीति थालेका थिए। २०६२ मा माओवादीको पोलिटब्यूरो सदस्य भएका पौडेल २०७१ मा केन्द्रीय सदस्य भएका थिए। उनी २०७५ तात्कालिन एमालेसँग पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य समेत बनेका थिए।
माओवादी सशस्त्र युद्धमा सहभागी पौडेल २०६८मा डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहाकारसमेत बनेका थिए। डा.भट्टराईले तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरेर नयाँ शक्ति बनाएसँगै उनीसँगै गएका थिए। केही समयपछि डा.भट्टराईको साथ छाडेर नेता पौडेल माओवादीमै फर्किएका हुन्।
पौडेलविरुद्ध उम्मेदवारी दिएकी चालिसे यसअघि कांग्रेसको राजनीतिमा सक्रिय थिइन्। विद्यार्थी कालबाटै नेपाल विद्यार्थी संघको राजनीति गरेकी मञ्जु लामो समय कांग्रेसनिकट स्वास्थ्यकर्मी संघमा सक्रिय रहेर काम गरिन्। गलकोट क्षेत्रमा सामाजिक कार्यकर्ताको छवि बनाएकी उनी कांग्रेसको १४ औं महाधिवेशनमा पनि प्रतिनिधि थिइन्। कांग्रेसमा संस्थापन इतर समूहको प्रतिनिधित्व गर्ने उनी १४ औं महाधिवेशनको क्रममा डा. शेखर पक्षमा खुलेरै लागेकी थिइन्।
स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाबाट मेयरमा उमेदवारी दिन खोजेकोमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेकी थिइन्। उनले निर्वाचनमा ३ हजार २६२ मत ल्याएकी थिइन्।
कांग्रेसमा अवसर नपाएपछि एमाले प्रवेश गरेकी चालिसे गठबन्धन दलभित्रको असन्तुष्ट मत तानेर चुनाव जित्ने दाउमा छिन्। गठबन्धन दल विगतमा पाएको आफ्नो जनमत जोगाउन सके चुनाव जितिनेमा निश्चिन्त देखिन्छ।
नेता पौडेलले ०७४ मा कांग्रेसका नरबहादुर पुनलाई यसै क्षेत्रबाट पराजित गरेका थिए। पौडेलले २८ हजार ८२७ मत ल्याउँदा पुनले १९ हजार ९०५ मत ल्याएका थिए। अघिल्लो निर्वाचनमा पौडेलले प्रतिस्पर्धी पुनलाई झण्डै ९ हजार मतले पराजित गरेका थिए।
गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारको कूल मतभार जोड्दा यस क्षेत्रमा गठबन्धनका उम्मेदवारले एमालेको भन्दा १५ हजार पाँच सय १९ मत बढी पाएका छन्। गठबन्धन दलले वडाध्यक्षमा ३४ हजार पाँच सय ६८ मत पाउँदा एमालेले १९ हजार ४९ मत पाएको थियो।
स्थानीय तह चुनावको मत परिणाम हेर्दा बागलुङ–२ मा गठबन्धनका उमेदवार पौडेल एमालेका लागि चुनौती बन्ने निश्चित छ। गठबन्धनका उमेदवार पौडेल केन्द्रीय राजनीतिमा राम्रो प्रभाव भएका व्याक्तिका रूपमा परिचित छन्। उनका प्रतिस्पर्धी चालिसे एमालेमा भर्खर प्रवेश गरेकी हुन्।
भर्खरै मात्र प्रवेश गरेकी चालिसेले प्रतिनिधि सभाको टिकट पाएकाले एमाले पंक्तिमा असन्तुष्टि बढेको छ। पार्टीमा लामो समय योगदान गर्ने नेतालाइ बिच्काएर पार्टी नेतृत्वले नवप्रवेशीलाई टिकट दिएको भन्दै नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन्। केन्द्रको दवावमा उम्मेदवार बनाइएकाले चालिसेलाइ पार्टीबाटै अन्तरघात हुने सम्भावना पनि उत्तिकै छ।
पौडेललाई बागीको चुनौती
त्यसैगरी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेलविरुद्ध पनि आफ्नै पार्टीका तुलसी अर्यालले बागी उमेदवारी दिएका छन्। केही समयअघि पौडेलसँग पार्टीकै कार्यक्रममा झगडा गरेका अर्यालले बागी उम्मेदवारी दिएकाले चुनौती बढेको हो।
अर्यालले क्षेत्र नं २ बाट सांसद पदका लागि दावा गरेका थिए। तर, पार्टीले पौडेललाई उमेदवार बनाएपछि अर्याल रुष्ट बनेका हुन्। दोश्रो संविधान सभामा उनी बागलुङ–२ बाट माओवादीका तर्फबाट उम्मेदवार बने पनि कांग्रेसकी ज्ञानकुमारी छन्त्यालसँग पराजित भएका थिए।
अर्यालका भाइ चन्द्र अर्याल गत स्थानीय निर्वाचनमा ढोरपाटन नगरपालिकाको प्रमुखमा माओवादीबाट उम्मेदवार बनेका थिए। तर, गठबन्धनले सबै पालिकामा निर्वाचन जित्दा चन्द्रले ढोरपाटनबाट चुनाव हारेका थिए। ढोरपाटनमा अर्यालविरुद्ध उठेका एमालेका देवकुमार नेपालीले प्रमुखमा पुनः विजयी भए।
अहिले बागी उमेदवार बनेका तुलसीले पछिल्लो समय कहिले माओवादी, कहिले एमाले पार्टीमा लाग्दै आएको थिए। उनले बागी उमेदवारी दिए पनि खासै प्रभाव नदेखिएको माओवादी कार्यकर्ता बताउँछन्। उनी ढोरपाटनका स्थानिय भएकाले त्यहाँ केही मत माओवादीको काट्ने आशंका छ।
कात्तिक १६, २०७९ बुधबार १३:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।