वीना मगरलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

वीना मगरलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडाैं : निर्वाचन आयोगले कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका माओवादी केन्द्रकी उम्मेदवार विना मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ।

मगरले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो।

'तपाईंबाट निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी बेलौरी नगरपालिकामा निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम भएको छैन भन्ने आधार कारण के छ ?' स्पष्टीकरण पत्रमा भनिएको छ, 'तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही किन हुनु नपर्ने हो ? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न अनुरोध छ।'

कात्तिक १६, २०७९ बुधबार १२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।