पर्सामा माओवादी केन्द्र छाडेर दुई दर्जनभन्दा बढि युवा जसपा प्रवेश

पर्सामा माओवादी केन्द्र छाडेर दुई दर्जनभन्दा बढि युवा जसपा प्रवेश

वीरगञ्ज : सशस्त्र युद्धकालदेखि नै माओवादी केन्द्रमा आबद्ध रहेका वीरगञ्जका दुई दर्जनभन्दा बढि युवाहरू जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्।

वीरगञ्ज महानगरपालिका–२३ का युवा नेता धर्मनाथ कुशवाह र कृष्णा कुशवाहको नेतृत्वमा दुई दर्जन भन्दा बढि युवाहरू सामुहिक रूपमा माओवादी केन्द्र परित्याग गरि जसपामा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई पूर्वमन्त्री एवं पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका छन्।

जसपाको राजनीतिक समितिका सदस्य समेत रहेका यादवकै निवासमा बुधबार आयोजित एक अनौपचारिक कार्यक्रममा माओवादी केन्द्रका युवाहरु जसपामा प्रवेश गरेको यादवका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए।

माओवादी केन्द्रमा परिवारवाद हावी हुँदै गएको र पार्टीमा कुनै योगदान नहुनेहरूको हाली मुहाली बढेको कारण आफूहरूले पार्टी परित्याग गरेको जसपामा प्रवेश गरेका धर्मनाथ कुशवाहले आरोप बताए।

उनले भने ,‘जनयुद्धदेखि पार्टीभित्र रहेर हामीले संघर्ष गर्यौं तर हाम्रो त्यागको त्यहाँ मूल्याङ्कन भएन, पार्टीमा कुनै योगदान नहुनेलाई स्थान दिने प्रवृति हावी भएपछि हामीले घर परिवर्तन गर्न बाध्य भयौँ।’

कुशवाहले जसपाले मधेशको मुद्दा उठाउनुका साथै शिक्षा, स्वास्थ्य, रोजगार लगायतको क्षेत्रमा समेत सुधार ल्याउने काम गर्दै आएकोले आफूहरूले जसपा प्रवेश गरेको बताए।

उनले पर्सा जिल्लाको विकास र समृद्धीका लागि प्रदीप यादवलाई पुनः निर्वाचित गराउनु पर्नेमा जोड पनि दिए।

कात्तिक १६, २०७९ बुधबार १०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।