रोहिणीमा दंगल प्रतियोगिता सुरु

भैरहवा : रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा मंगलबारदेखि वृहत खुल्ला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ।
रोहिणी गाउँपालिकाको आयोजनामा श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानको सहभागीता रहेको छ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए। उनले खेलकुद क्षेत्रको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीरबहादुर क्षेत्रीले युवाहरूलाई प्रोत्साहन गर्न र तराई–मधेशमा लोकप्रिय कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए।
उनले भने, ‘लोप हुन लागेको कुस्तीको संरक्षणको लागि पाँच लाख बजेट बिनियोजन गरी गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको छ, आगामी दिनमा पनि कुस्ती लगायत अन्य खेलकुद प्रतियोगितालाई निरन्तरता दिनेछौं।’
प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्तत्वनालाई १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए।
उनले भने, ‘निर्णायकको निर्णयअनुसार पहलमानहरुलाई प्रोत्साहनवापत साइकल र टेलिभिजनको व्यवस्था गरिएको छ।’
गाउँपालिकाले आयोजना गरेको कुस्ती प्रतियोगिता खेलाडीहरूलाई प्रोत्साहन गर्ने पर्सा जिल्लाबाट आएका पहलमान राज यादवले बताए।
प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ।
कात्तिक १५, २०७९ मंगलबार २१:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।