भूमिगत पार्किङमा व्यापारमा लगाउने भवनमा पोखरा महानगरले डोजर चलायो 

भूमिगत पार्किङमा व्यापारमा लगाउने भवनमा पोखरा महानगरले डोजर चलायो 

पोखरा : पोखरा महानगरपालिकाले भूमिगत पार्किङ खाली गराउन सुरु गरेको छ।

कर छुटको सुविधा लिएर निर्माण गरिएका भूमिगत पार्किङलाई व्यापारिक प्रयोजनमा प्रयोग गरेको भेटिएपछि महानगरपालिकाले पटक–पटक हटाउन अनुरोध गरेको थियो।

अधिकांशले महानगरपालिकाको अनुरोध बमोजिम पार्किङ खाली गरे पनि केहीले अटेर गरेपछि महानगरले मंगलबार ती भवनहरूमा डोजर चलाएको हो।

महानगरले मंगलबार पोखराको चिप्लेढुंगा स्थित आरके बिल्डिङ, विशाल बजार, महेन्द्रपुल स्थित गरिमा विकास बैंक रहेको भवन लगायत स्थानहरूमा डोजर चलाएको हो।

सेलवेज टावरको बेसमेन्टमा सञ्चालनमा रहेको विगबजार भने स्थानान्तरणको क्रममा रहेकाले सोका लागि ७२ घण्टाको अल्टिमेटम दिइएको छ।

‘महानगरको निर्णय कार्यान्वयन गर्नका लागि हामी दिनरात खटिरहेका छौँ नयाँ स्थानमा हामीले निर्माणको काम गरिरहेका छौं, यता सामानहरू प्याक गरिरहेका छौं,’ विगबजारका एक जना सञ्चालकले भने। उनले राज्यको निर्णय कार्यान्वयन गर्न आफूहरू तयार रहेको प्रतिबद्धता समेत जनाए।

महेन्द्रपुल स्थित सञ्चालनमा रहेको गरिमा विकास बैंकको शाखालाई समेत तत्काल स्थानान्तरण गरी भूमिगत पार्किङ खालि गर्न महानगर प्रमुख आचार्यले निर्देशन दिए। साङ्केतिक रूपमा बैंकको अगाडी रहेको फलामको रेलिङ बार महानगरपालिकाको डोजरले भत्काइदिएको छ।

पोखराको महेन्द्रपुल चोक मै रहेको हुलाक निर्देशनालयको कम्पाउन्ड समेत एक साताभित्र नहटाए महानगरपालिका आफैँले हटाउने वडा नं ९ का वडाअध्यक्ष दीपेन्द्र मर्सानीले बताए।

महेन्द्रपुल स्थित सिता भवन र मोबाइल टावरको बेसमेन्ट भने खाली भइसकेको छ। पोखराको लेकसाइड क्षेत्रका व्यवसायीहरूले भने आफ्ना बेसमेन्टलाई पार्किङ कै रूपमा प्रयोग गरिरहेका छन्।

नयाँ बजार क्षेत्रमा रहेका भूमिगत पार्किङमा अहिले पनि प्रेसदेखि गाडीका शोरुम तथा पार्टपुर्जाहरू बिक्री तथा मर्मत गर्दै आएको देखिन्छ। तिनीहरूलाई पनि महानगरपालिकाले क्रमशः हटाउँदै जाने जनाएको छ।

महेन्द्रपुलदेखि सिद्धार्थ चोकसम्म रहेका भूमिगत पार्किङलाई दुई पाङ्ग्रे र न्यूरोड क्षेत्रमा रहेका पार्किङमा कार पार्किङको रूपमा प्रयोग गर्ने योजना बनाइएको प्रमुख आचार्यले बताए।

उनले सडकको पार्किङलाई व्यवस्थापन गर्ने गरी काम थालिएको बताए। पोखरा महानगरपालिका क्षेत्रभित्र २५० वटा अन्डरग्राउन्ड पार्किङ सहितका भवनहरू निर्माण गरिएका छन्

कात्तिक १५, २०७९ मंगलबार १९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।