पाँच जनालाई ठक्कर दिएर फरार कार चालक पक्राउ

पाँच जनालाई ठक्कर दिएर फरार कार चालक पक्राउ

बुटवल : पाँच जनालाई ठक्कर दिएर फरार रहेका कार चालकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

छठ पूजाका लागि जाँदै गरेका पाँच जनालाई कारले ठक्कर दिँदा ३५ दिने शिशुसहित तीन जनाको मृत्यु भएको थियो। ओमसतिया गाउँपालिका–४ मा भएको घटनामा २ जना घाइते भएका थिए।

प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका २३ वर्षीय चालक अजयकुमार चौधरीलाई पक्राउ गरेको हो। प्रहरीले  घटनामा प्रयोग भएको कार पनि फेला पारेको छ।

रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले तीव्र गतिका कारण उक्त कारले स्थानीयलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए।

‘हाम्रो अनुसन्धानले अहिलेसम्म यही कुरा देखाएको छ, चालकले मदिरा सेवन गरेको पाइएन’, उनले भने, ‘बाँकी कुरा थप अनुसन्धान पछि खुल्ला।’

चौधरीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको उनले बताए। चौधरीले चलाएको बा ८ च ६५३२ नम्बरको कारले ठक्कर दिँदा दुई महिनाका बालक श्रीराम कुर्मीसहित २८ वर्षीया प्रमिला कुर्मी र १४ वर्षीय सीमा कुर्मी गरी एकै परिवारका ३ जनाको मृत्यु भएको थियो।

घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन्। उनीहरूको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनामा कारको अगाडिको बम्परको भागको टुक्रा, वाइपरको भाँचिएको टुक्रा र लुकिङ ग्लासको टुक्रा लगायत स्थानीयको सहयोग र सुक्ष्म अनुसन्धानबाट घटनामा संलग्नलाई चाँडै नै पक्राउ गर्न सफल भएको बताएको छ।

उनीविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरी भनाइ छ।

कात्तिक १५, २०७९ मंगलबार १९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।