१४ वर्षको बालकको हत्यामा संलग्न पाँच जना पक्राउ, हत्याको कारण पहिलेको रिसइबी

मोरङ: झापाको दमक नगरपालिका-१० का १४ वर्षीय दियुस श्रेष्ठको हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका-६ का सरोज बस्नेत, सन्देश खवास, मञ्जिल माझी, विकाश तामाङ र उर्लाबारी-७ का सपन खत्री रहेका छन्।
उनीहरूले पूर्व रिसईबीको कारण श्रेष्ठलाई कात्तिक १३ गते आइतबार राति साढे १० बजे उर्लाबारी-७ स्थित मावा खोलामा लागेको छठ पूजाको मेलामा चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट घाइते भएका श्रेष्ठको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो।
घटनामा संलग्न रहेका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घटनामा प्रयोग भएको चक्कुसहित नियन्त्रणमा लिएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
कात्तिक १५, २०७९ मंगलबार १२:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।