फ्रान्सका स्टार खेलाडी पोग्बा र कान्टेले कतार विश्वकप गुमाउने

एजेन्सी: फ्रान्सका स्टार खेलाडी पाउल पोग्बाले १९ दिनपछि कतारमा हुन गइरहेको विश्वकप फुटबल प्रतियोगिता गुमाउने भएका छन्।घुँडाको चोटबाट ग्रस्त पोग्बालाई निको हुन अझ समय लाग्ने भएकाले उनले विश्वकप गुमाउने भएका हुन्।
२९ वर्षीय पोग्बालाई गत जुलाईमा घुँडामा चोट लागेको थियो। उनले सुरुमा विश्वकपकै लागि भनेर अप्रेशन नगर्ने भनेका थिए। तर पछि अप्रेशन भयो र जसबाट पूर्ण निको हुन उनलाई समय लाग्ने भएको छ।
विश्वकपमा फ्रान्सले २२ नोभेम्बरमा अष्ट्रेलियाविरुद्ध पहिलो खेल खेल्दैछ।
पोग्बा मात्र होइन अर्का स्टार खेलाडी एनगोलो कान्टे पनि विश्वकपमा उपस्थित हुन नसक्ने तय भइसकेको छ। ह्यामस्ट्रिङ इन्जुरीका कारण उनले विश्वकप गुमाउने भएका हुन्। यी दुई खेलाडीको अभाव फ्रान्सलाई भारी पर्ने देखिएको छ। दुवै खेलाडी यसअघिको विश्वकप जित्दा महत्त्वपूर्ण सदस्य थिए।
सोमबार एक विज्ञप्तिमा पोग्बाका एजेन्ट राफाएला पिमेन्टाले पोग्बालाई शल्यक्रियाबाट निको हुन अझै समय लाग्ने भएकाले उनी विश्वकपअघि युभेन्टसको टोलीमा र विश्वकपको दौरान फ्रान्सको राष्ट्रिय टोलीमा सहभागी हुन नसक्ने बताए।
कात्तिक १५, २०७९ मंगलबार ०८:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।