सुस्तामा डुङ्गा पल्टिँदा मृत्यु भएका तीन जनाको पहिचान खुल्यो

बुटवल: पश्चिम नवलपरासीको सुस्तामा डुङ्गा पल्टिँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख ऋषिराम कँडेलले सुस्ता गाउँपालिका–४ नर्सही गोकुलनगरका स्थानीय युवाहरू पिकनिक खाएर फर्किँदै गर्दा डुङ्गा दुर्घटनामा परेको बताए।
उनका अनुसार दुर्घटनामा परी सुस्ता गाउँपालिका- ४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको छ।
दुर्घटनामा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी घाइते भएका छन्। उनीहरूको भैरहवामा उपचार भइरहेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ। सोमबार दिउँसो सुस्ताको वडा नम्बर ३ र ४ को बीचमा पर्ने थुम्कोमो पिकनिक खान गएका सात जना युवाहरू डुङ्गा चढेर फर्किँदै थिए। सोही क्रममा बिगेट खोलामा डुङ्गा पल्टिएर दुर्घटना भएको थियो।
कात्तिक १५, २०७९ मंगलबार ०७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।