एक महिना लामाे नेपाल भ्रमणमा नेपथ्य, पहिलाे शाे विराटनगरमा हुँदा अन्तिम काठमाडाैंमा

काठमाडौं : चर्चित सांगीतिक समूह नेपथ्य एक महिना लामो देशव्यापी यात्रामा निस्कने भएकाे छ।
आगामी मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा रहेकाे समूहले ‘मानवता प्रवर्द्धन अभियान’लाई पनि अघि बढाउनेछ।
अभियानसँगै नेपथ्यले अब ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामहरूलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको छ। यो प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानवसेवा आश्रम’ सँग हातेमालो गरेको छ।
‘मानवताको लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुती बिराटनगरमा हुनेछ। मंसिर १६ गते ‘हाटखोला मैदान’मा गुञ्जिने नेपथ्य त्यसपछि वीरगन्ज प्रस्थान गर्नेछ। मंसिर १९ गते वीरगन्जको ‘आदर्शनगर रंगशाला’मा प्रस्तुत हुने समूह मंसिर २२ गते हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा प्रस्तुति दिनेछ।
२५ मंसिरमा नारायणघाटको ‘क्याम्पाचौर’, मंसिर २९ गते नेपालगन्ज, ३ गते धनगढी रंगशाला, पुस ६ गते वीरेन्द्रनगर सुर्खेतको खुलामञ्च, पुस ९ गते बुटवलकाे ‘रामनगर खेलमैदान’, पुस १२ गते पोखरा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा कार्यक्रम हुनेछ।
सम्पूर्ण प्रदेशहरू घुमिसकेपछि अन्तिममा समूहले संघीय राजधानी काठमाडौंमा प्रस्तुती दिनेछ। काठमाडौंमा पुस १६ गते भृकुटी मण्डपमा कार्यक्रम हुनेछ।
कात्तिक १४, २०७९ सोमबार १८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।